
काठमाडौं, साउन २ । ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि ब्रिगेड ब्वाइज क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई ७–१ को फराकिलो अन्तरले पराजित गर्दै ब्रिगेड ब्वाइज उपाधिनजिक पुगेको हो ।
रेजिन सुब्बाले ‘ह्याट्रिक’ गर्दा शिशिर लेखीले दुई तथा जय गुरुङ र बृजेश चौधरीले एक/एक गोल गरे । मनाङका सचिन गुरुङले एक सान्त्वना गोल फर्काए ।
जितसँगै ब्रिगेडले लगातार दोस्रो उपाधिका लागि आइतबार हुने फाइनलमा पुलिससित प्रतिस्पर्धा गर्नेछ ।
पुलिस पहिलोपल्ट फाइनलमा
बिहीबारै भएको दोस्रो सेमिफाइनलमा पुलिसले जावलाखेल युथ क्लबलाई ३–१ ले पराजित गर्यो ।
पुलिसलाई सहज जित दिलाउन सञ्जु सेनले दुई तथा रविन राईले एक गोल गरे । जावलाखेलका शीर्षकभक्त श्रेष्ठले एक सान्त्वना गोल फर्काए ।
पुलिस प्रतियोगिताको अहिलेसम्मका संस्करणमध्ये पहिलोपटक फाइनलमा पुगेको हो ।
फाइनल खेल आउँदो आइतबार हुनेछ ।
‘ए’ डिभिजनका १४ क्लबले सहभागिता जनाएको प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्