पर्वत, कात्तिक ११ । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा मंगलबारदेखि कोरोना परीक्षण गर्न थालिएको छ ।
संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो ।
गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गर्नुभयो ।
उहाँले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताउनुभयो ।
मंगलबार बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
हरेक घरमा एक जनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ ।
यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पिसिआर परीक्षण गरिसकिएको छ ।
यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेशनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्