आम्दानी शून्य चिडियाखानालाई ललितपुर महानगरको आर्थिक सहयोग • Image Khabar Image Khabar


आम्दानी शून्य चिडियाखानालाई ललितपुर महानगरको आर्थिक सहयोग


इमेजखबर
६ कार्तिक २०७७, बिहीबार १४:५७

आम्दानी शून्य चिडियाखानालाई ललितपुर महानगरको आर्थिक सहयोग

काठमाडौं, कात्तिक ६ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बिहीबार महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीवी पोखरेललाई सहयोगवापतको चेक हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले कोभिड-१९ संक्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएकोले आर्थिक समस्या परेको अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराएको बताउनुभयो ।

आगामी दिनमा आवश्यकताअनुसार आर्थिक सहयोग रकम जुटाउन महानगर प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।

सदर चिडियाखानाका आयोजना अधिकृत डा. पोखरेलले कोभिड-१९ संक्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताउनुभयो ।

चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी खर्च हुने गर्छ भने चिडियाखानाभित्र रहेका वन्यजन्तुको खानपिनका लागि करिब तीनदेखि चार करोड रुपैयाँ खर्च हुने पोखरेलले बताउनुभयो ।

चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु रहेका छन् ।

आर्थिक अभावका कारण चिडियाखानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताउनुभयो ।

वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्षदेखि चिडियाखना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड-१९ का कारण पूर्णरुपमा बन्द गर्नुपर्दा आम्दानी शून्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्