११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कमैयामुक्ति घोषणाको १८ वर्षः मुक्तकमैयाको अझै गरिएन पुनःस्थापना (भिडियो)


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन २ । कमैयामुक्तिको १८ वर्ष पुग्दा पनि कैलालीका सबै मुक्तकमैया परिवारको अझैपनि पुनःस्थापना हुन सकेको छैन ।

मुक्त भएको दुई दशकसम्म पुनःस्थापना हुनबाट बन्चित परिवार निकै दयनीय जीवनयापन गर्न बाध्य छन् ।

उनीहरुले सरकारी स्वामित्वको जग्गा, बाँझो जमिन, वनक्षेत्र कब्जा गरेर झुप्रो बनाइ बसे पनि बाँच्नलाई अत्यावश्यक आधारभूत आवश्यकताको उपभोग गर्न नपाएको गनासो गरेका छन् ।

तत्कालीन सरकारले तराईमा प्रचलित कमैया प्रथालाई उन्मूलन गर्ने भन्दै वि.सं. २०५७ साउन २ गते कमैयामुक्तिको घोषणा गरेको थियो । बुधबार विभिन्न जिल्लामा कमैयामुक्ति दिवस मनाइएको छ ।

सरकारले पुनःस्थापना नगर्दा समस्यासँग जुहारी खेल्नुपरेको गौरीगंगा नगरपालिकास्थित बेताल कमैया बस्तीकी छुट कमैया चम्कलियादेवी चौधरीले बताइन् ।

दिनभरि काम गरेर थकित शरीरलाई आराम दिनका लागि राम्रो झुपडी पनि नरहेको सुनाउँदै उनले खानेपानी, विद्युत्जस्ता आधारभूत आवश्यकता उपभोग गर्नबाट बन्चित रहेको बताउँछिन् ।

स्थानीय तह र आमनिर्वाचनकाक्रममा भोट माग्न बस्तीमा छिरेका नेताहरुले वर्ष दिनमै पुनःस्थापना गर्ने आश्वसन दिएका थिए ।

नेताहरु चुनाव जितेपछि समस्यासमेत बुझ्न नआएको गुनासो गर्दै चम्कलियाले नेताहरुले ‘भोट बैंक’कोरुपमामात्रै प्रयोग गरेको दुखेसो पोखिन् ।

अहिलेसम्म सबैको पुनःस्थापना भइसक्नुपर्ने भएपनि पुनःस्थापनाबाट बन्चित भएको धनगढी नगरपालिका–१, बसन्तटोल मुक्तकमैया बस्तीका हनुमान चौधरीले बताए ।

बत्तीमुनिको अँध्यारोजस्तै आफूहरुले सहरमै पनि विद्युत् र खानेपानी सुविधाको उपभोग गर्न नपाएको चौधरीको भनाइ छ ।

कैलालीमा जग्गा पाउनुपर्ने ८ हजार ९१० परिवार मुक्तकमैया रहेका थिए । आर्थिक वर्ष २०७४/०७५ सम्म ८ हजार २५५ परिवारको पुनःस्थापना भइसकेको छ ।

४८२ परिवारको पुनःस्थापना हुन बाँकी रहेको जिल्ला भूमिसुधार कार्यालय कैलालीका कमैयाफाँटका सुपरभाइजर अमरबहादुर चौधरीले बताए ।

उनले ४४० परिवारको सट्टा भर्ना गर्नुपर्ने देखिएकाले सिफारिस गरिएको तर मन्त्रालयबाट अहिलेसम्म स्वीकृत नभएको जानकारी दिए ।

भिडियो हेर्नुहोस्