२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उदयपुरमा बाढीले बेहालः अधिकांश स्थानमा डुवान, पहाडी भागमा पहिरो


0
Shares

-केदार कटुवाल/ईमेज

उदयपुर । पाँच दिनदेखिको बर्षाका कारण उदयपुरमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ ।

जिल्लाका विभिन्न भागबाट संचालन हुने यातायातका साधन अझै चल्न सकेका छैनन् । बर्षाले पहाडी भागमा पहिरो गएको छ भने मैदानी भाग डुवानमा परेको छ ।

यारी खोलाले ताप्लिको उब्जाउ भूमि बगरमा परिणत भएको छ ।

उदयपुर र सिन्धुलीको सीमा भएर बग्ने तावा र ककरु खोलाको बाँध फुट्दा कटारी र सिन्धुलीको दुधौली नगरपालिकाका खेतीयोग्य जमिन बगर बन्दै गएको छ ।

त्रियुगा नदीको बाँध फुट्दा ४ दर्जन बढी घर परिवार बिस्थापित भएका छन् । कोसी टप्पुका सयौं परिवार जोखिममा जीवन यापन गरिरहेका छन् ।

श्रीलंका, एबीसी, धौरी टप्पुमा लगाइएको तरकारी खेती नष्ट भएको छ ।

यता, पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् ।

जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहिरोले भत्काएको र केही घर पुरिएको छ ।

लिम्चुङबुङ गाउँपालिकाको ४ बलाम्ता क्षेत्रमा पहिरोको कारण तीन दर्जन घर भत्कन थालेको र बलाम्ताको पर्शुराम पद्मा माध्यामिक विद्यालयसमेत पहिरोको जोखिममा परेको छ ।

उदयपुर गढी र लिम्चुङबुङ गाउँपालिकाका धेरै वडामा घर पहिरोले भत्काउन थालेपछि अहिले सयौँ स्थानीय घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन् ।