२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


अस्पताल सञ्चालकसहित कोरोनाबाट विराटनगर, सुनसरी र चितवनमा थप ६ जनाको मृत्यु


0
Shares

विराटनगर/सुनसरी/चितवन । कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । विराटनगरमा चार जना र सुनसरी र चितवनमा एक एक जनाको मृत्यु भएको हो ।

विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित थप चार जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो ।

मृतकमध्ये एकजना अस्पताल सञ्चालक हुन् । न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालक हुन् । यसैगरी नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको आज र विराटनगर–३ का ६६ वर्षीय पुरुषको गएराति मृत्यु भएको नोबेल मेडिकल कलेजले जनाएको छ ।

त्यसैगरी बिराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित एक महिलाको पनि ज्यान गएको छ । बिराटनगर–२ की ६० वर्षीया महिलाको आज मृत्यु भएको हो ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिकाकी कोरोना संक्रमित ७० वर्षिय महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेकी उनको गएराति मृत्यु भएको हो ।

यस्तै चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।