
वासिंटन, असार २९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बाराक ओबामाको अनादर गर्न इरानसँगको परमाणु सम्झौता भंग गरेको एक जना बेलायती कूटनीतिज्ञको दावी छ ।
हालै पदबाट राजीनामा दिएका अमेरिकाका लागि बेलायतका राजदूत सर किम डारकले ट्रम्पको उक्त कदमलाई कूटनीतिक बर्बरताका रूपमा व्याख्या गरेको बेलायती अखबार ‘द मेल’ले लेखेको छ । अमेरिकी राष्ट्रपतिसँग विवाद बढ्दै गएपछि किम डारकले राजीनामा दिएका थिए ।
सो पत्रिकाका अनुसार तत्कालीन बेलायती विदेशमन्त्री बोरिस जोन्सनले सन् २०१८ मा अमेरिकालाई सम्झौतामा अडिग रहिरहन आग्रह गरेपछि किम डारकले त्यस्तो टिप्पणी लेखेर पठाएको बताइएको छ । अमेरिका लगायतका शक्ति राष्ट्रले सम्झौतामा इरानलाई संवेदनशील परमाणु गतिविधि सीमित पार्न सहमत गराएका थिए । पत्रिकाले जोन्सन अमेरिकाबाट फर्किएपछि किम डारकले आफ्नो सरकारलाई ट्रम्पले सम्झौता भंग गर्ने देखिएको लेखेका थिए ।
आफ्ना पूर्ववर्ती ओबामाले गरेको सम्झौता भएकैले व्यक्तिगत कारणले गर्दा ट्रम्पले त्यसो गर्न चाहेको उनको निश्कर्ष थियो । बेलायती सुरक्षा निकायले चुहिएका कूटनीतिक विवरणहरू नछाप्न सञ्चारमाध्यमलाई सजग गराएपछि यो विवरण सार्वजनिक भएको हो । ट्रम्प प्रशासनलाई किम डारकले अक्षम, असुरक्षित र अयोग्य भनेका इमेलहरू केही दिनअघि सार्वजनिक भएका थिए ।
गोप्य इमेल सार्वजनिक भएपछि ट्रम्पले बेलायती राजदूतसँग व्यवहार नगर्ने बताएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्