Logo १९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026


ओलीको आग्रह दाहालले गरे अस्वीकार


0
Shares

काठमाडौं, कात्तिक १ । कर्णाली प्रदेश सरकारमा देखिएको विवाद समाधानका लागि संयुक्त छलफल गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गर्नुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले नेकपा कर्णाली प्रदेशका पदाधिकारीसँग संयुक्त छलफलमा सहभागी हुनका लागि अध्यक्ष दाहाललाई निम्तो दिएपनि दाहालले कर्णाली प्रदेशका दुवै पक्षसँग आफूले यसअघि छलफल गरिसकेको भन्दै सहभागी हुन अस्वीकार गर्नुभएको हो ।

बिहीबार र शुक्रबार कार्यकारी अध्यक्ष दाहालसहित अरु नेताहरुले विवाद समाधानका लागि पदाधिकारीहरुसँग छलफल गरिसकेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि चर्किएको विवाद समाधान गर्न अध्यक्षद्वय ओली र दाहालले कर्णाली प्रदेशका नेकपा नेताहरुलाई काठमाडौं बोलाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका पदाधिकारी काठमाडौं आएको तीन दिनपछि विवाद समाधानका लागि शनिबार सामूहिक छलफल गर्नुभएको हो ।

नेकपा कर्णाली प्रदेशमा देखिएको विवाद समाधानको प्रयासस्वरुप प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेशका सहइन्जार्च यामलाल कँडेल, प्रमुख सचेतकबाट निलम्बनमा परेका गुलाबजंग शाह, प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा, मन्त्री प्रकाश ज्वालालगायत तीनै गुटका नेताहरु काठमाडौं आएका छन् ।