८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


बिहार डुब्ने डर, नेपाली वस्तीमा त्रासः सप्तकोशी ब्यारेजका २६ वटा ढोका बन्द


0
Shares

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव केही कम भएपछि भारतले सप्तकोशी ब्यारेजका ५६ ढोकामध्ये २६ वटा ढोका पुनः बन्द गरेको छ ।

पानीको बहाव उच्च भएपछि गएरातिदेखि सबै ५६ वटै ढोका खोलिएकोमा आज बिहानदेखि पुनः २६ वटा ढोका बन्द गरिएको हो ।

आज बिहान सप्तकोसीमा पानीको बहाव केही घटेपछि भारतले २६ वटा ढोका बन्द गरी ३० वटा मात्र खुला गरेको कोसी ब्यारेज प्रहरी चौकीका प्रमुख ईश्वरी दाहालले जानकारी दिए ।

विहान ९ बजे सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६४ हजार १ सय ७० क्यूसेकमा झरेको छ । गएराति पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ७१ हजार १ सय १९ क्युसेक पुगेको थियो ।

भारतले केही समयका लागि ५६ वटै ढोका खोलेको जस्तो देखाए पनि विहार डुवान हुने डरले नेपालतर्फको मानव बस्ती र खेतीयोग्य जमिन डुवान हुने गरी कोशी ब्यारेजका ढोका बन्द गरेको स्थानीयले आरोप लगाएका छन् ।

सप्तकोसीमा आएको बाढीका कारण सुनसरीको श्रीलंका टापु र सप्तरीको गोवरगाडा पुरै जलमग्न भएको छ ।

स्थानीय बासिन्दाले सप्तकोशी ब्यारेजका सबै ढोका खोल्न सरकारसँग माग गरेका छन् ।

१९६४ सालमा निर्माण गरिएको कोसी ब्यारेजको कुल क्षमता ९ लाख क्युसेक पानीको रहेको छ । यो ब्यारेजको आयु ७५ वर्ष मात्र रहेकाले कुनै पनि समय जोखिम हुन सक्ने अवस्था रहँदै आएको छ ।