२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


त्रियुगा नदीको बाँध फुट्यो, ५०० घर डुबानमा


0
Shares

गाईघाट, असार २८ । चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१, तपेश्वरीमा शनिबार बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका ५०० भन्दा बढी घर डुबानमा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काकाअनुसार त्रियुगा नदीको बाँध फुटेर पूरै त्रियुगा नदी तपेश्वरी क्षेत्रमा प्रवेश गरेपछि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले २०० जनाको उद्धारकार्य गरिसकेको छ भने अन्यको पनि उद्धारकार्य जारी राखेको छ ।

तपेश्वरी क्षेत्रमा थप क्षति हुन नदिन नेपाली सेना र सशस्त्र प्रहरी इटहरीबाटसमेत थप सामग्री मगाएर उद्धारकार्य सुरु गरिएको प्रजिअ खड्काले बताए ।

पूरै तपेश्वरी गाउँ नै त्रियुगा नदीको डुबानमा परेको र हेलिकोप्टर मगाउन प्रयास गरिएपनि उडान हुन नसक्ने अवस्था रहेका कारण अहिले प्रदेश नम्बर–१ इटहरीसहित जिल्लाका सुरक्षाकर्मी ‘जेटबोट’ परिचालन गरेर तपेश्वरीमा उद्धारकार्यमा जुटेका प्रजिअ खड्काले जानकारी दिए ।

अहिले नै रेडक्रससहित औषधि, लत्ताकपडा खानेकुराका लागि सहयोग गर्ने टोली पनि तपेश्वरीतर्फ पठाउने कार्य भइरहेकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, कटारी नगरपालिकाको कटारीबजारस्थित तावाखोला किनारका २५ घर मुसहरबस्तीसमेत डुबानमा परेपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धारकार्य गरिरहेको प्रजिअ खड्काले बताए । रासस