२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


अस्पतालबाट हराएको नवजात शिशु भेटियो, शिशुलाई चोर्ने महिला नियन्त्रणमा


0
Shares

पाल्पा, असार २८ । लुम्बिनी मेडिकल कलेज प्रभाषबाट शुक्रबार हराएको नवजात शिशु भेटिएको छ ।

तानसेन नगरपालिका–९, डाँडाडुमका २२ वर्षीय जमुना रानाको नवजात शिशु शुक्रबार अपराह्न ३ः०० बजेतिर अस्पतालबाट हराएको थियो ।

कालीगन्डकी गाउँपालिका मिर्मीबजार क्षेत्रमा शनिबार बिहान शिशुसहित महिला भेटिएकी हुन् ।

पाल्पा र स्याङ्जा प्रहरीको टोलीले मिर्मीबजार क्षेत्रबाट शिशुसहित महिलालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले हराएको शिशु र शिशुलाई चोर्ने महिलालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ल्याइरहेको बताए ।

प्रसूतिका लागि जमुना शुक्रबार बिहान ९ः३० बजे लुम्बिनी मेडिकल कलेजमा आएकी थिइन् । बिहान ११ः५६ मिनेटमा जमुनाको दुई किलो ७१० ग्रामको शिशु जन्मेको थियो ।

सुत्केरी छोरी जमुना रेखदेखका लागि आमा अस्पतालमा रहेकी थिइन् ।

करिब अपराह्न २ः०० बजे अपरिचित महिलाले जमुनाको आमासँग भर्खर जन्मेको शिशुलाई खेलाउन मागेको तथ्य बाहिर आएको छ ।

आमाले छोरी जमुनाका लागि झोलिलो परिकार खोज्न खाजाघर निस्केका बेला महिलाले शिशु चोरेर भागेको प्रहरीले जनाएको छ ।

अस्पतालमा सीसीटीभी नभएपनि होटलको सीसीटीभीको सहयोगमा शिशु बोकेर हिँडेकी महिलाको ‘फुटेज’ संकलन गरेको प्रहरीले जनाएको छ ।

प्रहरीसँग रहेको फुटेजका आधारमा महिलाले पछाडि झोला, अगाडि शिशु बोकेर अस्पताल क्षेत्रबाट बाहिर निस्केको देखिएको थियो ।

करिब ४५ वर्षीया महिला हुनुपर्ने प्रहरीको अनुमान छ । ती महिलाको अझै सनाखत हुनसकेको छैन । रासस