Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


सूरसाधनामा रोजीको प्रस्तुतिमा झुमे दर्शक


0
Shares

काठमाडौं । सास्कृतिक संस्थानले प्रत्येक महिनाको अन्तिम विहिवार आयोजना गर्दै आएको सूरसाधनाको १२ औं श्रृंखलामा गायिका रोजी डंगोल श्रेष्ठले आफ्ना चुनिएका ११ गीतहरु सुनाइन् ।

दुई दशकको सांगीतिक जीवनका अति रुचाइएका गीतहरुको प्रस्तुति रहेको उक्त कार्यक्रममा दर्शक ओइरिएका थिए ।

असारको समयमा सक्रिय किसानको जीवनसँग जोडिएका संघर्ष, विकृति र आधुनिकताको आवश्यकताको भाव समेटिएको वि.नन्द वैद्यको रचना र अनिल तुलाधरको संगीत रहेको नेपालभाषाको गीत “न्हिच्छि न्हिच्छि चच्छि, चच्छि” प्रस्तुतिबाट सांगीतिक यात्रा अघि बढ्यो ।

“लँ पंवारे दाइचा जितः…” अर्थात मेरो बाटो छेक्न आउ, कोही नभएको मौका पारी हात समाउन आउ, म रिसाउछु, तिमीलाई धकेल्छु, मनमा माया भएपनि सुनाउँ कसरी, रिस नै हो बुझ्नु मेरो मायाको संकेत भनी गीत सुनाउँदा दर्शक निकै उत्साहित भए ।

सुरजवीर बज्राचार्य रचना र जूगल डंगोलको संगीत रहेको उक्त गीत पछि हरिशरण साय्मिको संगीत र प्रकाश अर्यालको शब्द रहेको “आजको समय भोली आउँदैन”, सुमन वैरागीको शब्द, ज्योति प्रकाशको संगीत रहेको “म जन्मेको शहर भन्दा गाउँ राम्रो छ रे”, आनन्द अधिकारीको शब्द, आनन्द राईको संगीतमा “अग्नी परीक्षा”, रमेश दाहालको शब्द, शक्ति वल्लभको संगीत रहेको “जे सुकै होस् मनको कुरा सुन्दिन म त” सुनाए भने कार्यक्रममा पूर्णकाजीको शब्द र जूगल डंगोलकै संगीत रहेको नेपालभाषाको गीतहरु “मतिना फसं”, “यच्चुगु सर्गः”, “मोहनी तया ला”, “मस्यू जितः छुजू छुजू” र “चुलि जायावइगु वसन्त लसय्” सुनाइन् ।

यी गीत सुनाइरहँदा दर्शकहरुले नाचेर रोजीको साथ दिए । कार्यक्रममा प्रस्तुत ११ वटा गीतहरु प्रस्तुत भए भने युगल गीतमा गायकहरु सानुबाबु महर्जन, दीपेन्द्र बज्राचार्य, सुमित खड्काले साथ दिए ।

कोरस गायनमा गंगा राई बुढाथोकी, प्रिति तामाङ, अमृता रेग्मीको साथ रहेको उक्त कार्यक्रममा वाद्यवादनमा कृष्ण गुरुङ, खर्कबहादुर बुढा, लोकराज राई, दुर्गा प्रसाद खतिवडा, तीर्थराज पोखरेल, दिपेन्द्र बज्राचार्य, सितामैंया राजचल, नरेश प्रजापति, भगिरथ सुस्लिङ, रविन कार्कीढली, आकाश गोर्खाली, राहुल भुजेलको साथ रहेको थियो

कार्यक्रममा कलाकार मनोज गजुरेल, सांसद कृष्ण राई, वरिष्ठ गायक प्रेमध्वज प्रधान, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रोजीको सांगीतिक सक्रियताका बारे चर्चा गरे भने गायिका रोजीकी पति वालचन्द्र श्रेष्ठले रोजीको सांगीतिक जीवनमा आफूले सक्दो सघाएको र सँधै सघाउने उल्लेख गर्दै आज रोजीका नामले आफू चिनिएकोमा निकै खुशी लागेको सुनाए ।

सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा  प्रमुख अतिथिका रुपमा जनकवि दुर्गालाल श्रेष्ठ तथा विशिष्ट अतिथिका रुपमा वरिष्ठ गायक प्रेमध्वज प्रधान, राष्ट्रिय सभा सदस्य खेम नेपाली, सांसदहरु कृष्ण राई, मैनाकुमारी भण्डारी, वसन्त मानन्धर तथा प्राज्ञ कविता आले, पवित्रा घर्तीमगर लगायतको उपस्थिति रहेको थियो ।

सांस्कृतिक संस्थानका कार्यक्रम तथा योजना महाशाखा प्रमुख प्रभाकर शर्माले स्वागत गर्नुभएको कार्यक्रम संचारकर्मी सुरजवीर बज्राचार्यले सञ्चालन गरेका थिए ।