
-डीबी विष्ट/ईमेज
बझाङ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना मानिएको बझाङको बुंगलमा रहेको कालंगा हाइड्रो प्रालिको फिल्ड कार्यालयमा तोडफोड भएको छ ।
हाइड्रोका जेसीबी चालक माधव बोहरालगायतले बुंगल नगरपालिका–२ बस्तीकी ललिता धामीको सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै स्थानीयले दोषीलाई कारवाहीको माग राखेर तोडफोड गरेका हुन् । यसले हाइड्रोको कामसमेत प्रभावित बनेको छ ।
बझाङको बुंगलमा रहेको कालंगा हाइड्रो प्रालिको फिल्ड कार्यालयमा स्थानीय र विद्यार्थीले तोडफोड गरेका कारण झन्डै १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
असार १६ गते स्थानीय ललिता धामीको सामूहिक बलात्कारपछि हत्या भएपछि आक्रोसित स्थानीय र विद्यार्थीले तोडफोड गरेका हुन् ।
हाइड्रोका चालक माधव बोहोरासमेत बलात्कारपछि हत्याको घटनामा संलग्न रहेको आरोपमा तोडफोड गरिएको बताइएको छ ।
तर कालंगा हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले भने दुःखद घटना भए पनि पीडित परिवार, जनप्रतिनिधि र हाइड्रोबीच सहमति भइसकेपछि केही व्यक्तिले घटना भएको पाँच दिनपछि सुनियोजित ढंगले तोडफोड गरेको आरोप लगाए ।
बुंगल नगरपालिका–१ का कार्यालय सहयोगी हरिकृष्ण धामीले भने विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरेको भए पनि हाईड्रोप्रति असन्तुष्ट पक्ष त्यसैमा मिसिएर तोडफोड गरेको बताए ।
महेन्द्र माविका व्यवस्थापन समितिका अध्यक्ष जननी धामीले जेसीवी चालक माधवबहादुर बोहरा र ललिताबीच प्रेमसम्बन्ध रहेको र उनीहरुबीच केही विवाद आएपछि बोहराले टिपरले किचेर मारेको बताए ।
मृतक ललिता धामीका बुबा कलक धामीले भने अभियुक्त बोहराले आफ्नी छोरीलाई बलात्कार गरी हत्या गरेकाले कारबाही गर्न माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले विद्यार्थीलाई उक्साएर हाइड्रोमा तोडफोड गर्नेहरुलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तोडफोडपछि हाइड्रोको कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
तर, बलात्कारपछि हत्या भएको घटनामा हाइड्रोका सवारी चालकको समेत संलग्नता रहेको पाइएपछि स्थानीयवासीको आक्रोस थामिएको छैन ।
यसले सुदूरपश्चिम सरकारको गौरवको आयोजना मानिएको ६५ मेगावाट क्षमताको कालंगा हाइड्रोको काम प्रभावित हुने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्