
सुनसरी, असार २६ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार मध्यराति १३ दिने नवजात शिशुको अपहरण भएको छ ।
प्रतिष्ठानको कमजोर सुरक्षा व्यवस्थाका कारण प्रतिष्ठानको प्रसूति वार्डबाट नवजात शिशुको अपहरण भएको हो ।
नवजात शिशुको अपहरण भएपनि धरान प्रहरीले तीन घन्टाभित्रै शिशुको सकुशल उद्धार गरेको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ की बबिता मेहताले यही असार १३ गते छोरा जन्माएकी थिइन् ।
बुधबार राति १२ बजेतिर बबिताको छोराको अस्पतालको बेडबाटै अपहरण भएको हो ।
बुधबार राति बबिता र उनका कुरुवा बसेका भतिज रोशन मेहता निदाएको मौकाछोपी दुईजना महिलाहरुले १३ दिनको नवजात शिशुको अपहरण गरेको जनाइएको छ ।
बबिता निद्राबाट बिउझिँदा बेडमा छोरा देखिनन् । उनले त्यसबारेमा चिकित्सकहरुसित सोधपुछ गरिन् । शिशु वरिपरि नदेखिएपछि अपहरणमा परेको आशंका गरियो ।
तत्काल प्रतिष्ठानका चिकित्सकहरुले प्रहरीमा खबर गरे । त्यसको करिब तीन घन्टाको अन्तरमा प्रहरीले अपहरणमा परेका नवजात शिशुको धरान उपमहानगरपालिका–१५, बगरकोटबाट उद्धार गरेको प्रहरीले जनाएको छ ।
दिल्ली लैजाने तयारी
नवजात शिशुको अपहरणमा संलग्न दुई महिलालाईसमेत प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
अपहरणमा संलग्न धरान–१५ माइतीघर भएकी भारतको नयाँदिल्लीकी २७ वर्षीया लीला विक र उनकी भाउजु मीना लिम्बू (विक)लाई पक्राउ गरिएको उनले बताए ।
अपहरणपश्चात् शिशुलाई दिल्ली लैजाने तयारी गरिएको खुलेको डीएसपी न्यौपानेको भनाइ छ ।
बबिताले शल्यक्रियामार्फत् शिशु जन्माएकी थिइन् । चिकित्सककाअनुसार सोक्रमको घाउ पूर्णरुपमा निको नभइसकेकाले उनी अस्पतालमा उपचाररत् छिन् ।
पक्राउ परेका लीला र मीना इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नवजात शिशुका बुवा दीपनारायणले प्रतिष्ठानको सुरक्षा व्यवस्था मजबुत् बनाउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्