
विराटनगर । नेपाल भारतको सीमा नाका आउजाउमा पूर्ण बन्द भएपनि भारतको जोगवनी बजार गर्न दैनिक सयौ नेपाली पुग्छन् ।
सम्भावित संक्रमणलाई मध्यनजर गरेर सीमा नाका बन्द गरिएको भएपनि मोरङको विराटनगरसँग जोडिएको भारतीय बजार जानेका लागि भने त्यो लागू भएको पाइँदैन ।
कोभिड–१९ का कारण नेपालसँगको अन्तर्राष्ट्रिय सिमाना पूर्ण बन्द गरेको भनिएपनि भारतसँग जोडिएको विराटनगरको इस्लामपुर नाका क्षेत्रमा खुल्ला रुपमा आउजाउ भइरहेको छ ।
मुख्य नाका जोगवनी र आइसिपीमा मानिसको आउजाउ नभएपनि छेउछाउका नाकामा खुलेआम हुने गरेको हो ।
आइसिपी र रानीको बीचमा रहेको इस्लामपुर नाकाबाट दैनिक तीन हजारभन्दा बढी नेपाली जोगवनीमा सामान खरिद गर्न पुुग्ने गरेका छन् ।
ठूलो संख्यामा मानिसहरु नेपालबाट इस्लामपुर नाका हँुदै जोगवनी सामान किन्न जाने गरेको स्थानीयको भनाइ छ ।
इस्लामपुरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बसेको भए पनि नेपालतर्फबाट मानिसहरु सहजै आउजाउ गरिरहेका छन् ।
तरकारीलगायतका सामान किन्न हटिया जानेलाई भने प्रहरीले रोक्ने गरेको स्थानीयको आरोप छ ।
कोरोना संक्रमण तीब्र गतिमा फैलिइरहेको अवस्थामा विराटनगरको इस्लामपुरमा भने मेला लाग्ने गरेको छ ।
उक्त नाका हुँदै जोगवनी जानेमा महिला र बालबालिकाको संख्या बढी छ ।
मेला लाग्ने गरेको इस्लामपुरमा प्रहरीले रकम लिएर मानिसलाई आउजाउ गर्न दिने गरेको स्थानीयको आरोप छ ।
दिउँसो कडाइ गर्ने प्रहरीले रातको समयमा भने रकम लिएर सामान कटाउने गरेको स्थानीय सलिम मियाँको आरोप छ ।
यता मोरङ प्रहरीले सिमानाकामा कडाइ गरेको दावी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्काले प्रहरीले रकम लिएको भन्ने आरोपको खण्डन गर्नुभयो ।
प्रहरी उपरिक्षक खड्काले कुनै प्रहरीले रकम लिएको प्रमाण भेटे कारवाही गर्नेसमेत चेतावनी दिनुभयो ।
चोरबाटो प्रयोग गरेर भारत पुगेर फर्किने जो कोहीलाई पनि १४ दिन क्वारेन्टिनमा राखेर मात्र घर पठाइने बताउनुहुन्छ ।
महामारीको समयमा इस्लामपुर नाकाबाट मानिसहरु खुल्ला रुपमा आएपनि अन्य नाकाबाट पनि लुकिछिपी आउने गरेका छन् ।
विराटनगरकै दरैया नाकाबाट पनि सामान किन्न नेपाली जोगवनी जाने गरेका छन् ।
दरैया नाकाको दसगजामा भएको पोखरीमा कम्मरसम्म डुबेर नेपालीहरु सामान ओसारी रहेको देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्