१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


‘माइतीको आँगनी’मा मौलिकता (भिडियो)


0
Shares

काठमाडौं, साउन २ । नेपाली सांगीतिक बजारमा यतिबेला तीज पर्वलक्षित गीत–संगीतको बाढी छ ।

नाम चलेकादेखि सांगीतिक क्षेत्रमा जम्ने कोसिस गरिरहेकाहरुसमेत यसतर्फ आकर्षित हुने गरेका छन् । तर, तिनमा मौलिकता हराएको गुनासो चर्को छ । विकृति बढेको आरोप उत्तिकै सुनिन्छ ।

गायिका सिर्जना थापा खनालले पनि तीजकै छेको पारेर ‘माइतीको आँगनी’ सार्वजनिक गरेकी छन् । मौलिकता पस्किन खोजिएको उक्त गीत धेरैले रुचाएका छन् ।

माइतीको आँगनी केहीअघि यु–ट्युबमा आइसकेको छ । उक्त गीतमा लय, शब्द र स्वर गायिका सिर्जनाकै रहेको छ ।

माइतीआँगनमा चेलीहरु जम्मा भएर नाचगान गरेको दृष्य गीतको भिडियोमा उतारिएको छ ।

भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका छन् । हरिनारायण चौधरीले खिचेको भिडियोमा विवेक खड्काको सम्पादन रहेको छ ।

गायिका सिर्जनाले लोकगायनमा पाइला हालेको करिब १५ वर्ष भइसक्यो । वि.सं. २०६० सालमा ‘पाल्पा धैरेनी’ बोलको गीत उनको आवाजमा रेकर्ड भएको पहिलो गीत थियो ।

२०६८ सालमा सोलो एल्बम ‘उड्यो हवाईजहाज’ स्रोतामाझ ल्याएकी सिर्जना पूर्वसन्चारकर्मीसमेत हुन् । एफएम र टीभीमा उनले लामो समय बिताइन् ।

यसबीचमा केही वर्ष विदेश उडेकी उनी तीज गीतमार्फत् पुनः सांगीतिक क्षेत्रमा फर्किएकी हुन् ।

भिडियो हेर्नुहोस्