१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


भिटोफमा नयाँ नेतृत्वका लागि होडबाजीबीच थापाको सशक्त दावेदारी


0
Shares

काठमाडौं, साउन २ । यही साउन १५ गते हुने गाउँपर्यटन प्रवर्द्धन मञ्च (भिटोफ–नेपाल)को साधारणसभाका लागि नयाँ नेत्तृवका आकांक्षीहरु बीच होडबाजी शुरु भएको छ ।

एक दर्जन आकांक्षीहरुले नयाँ नेतृत्व सम्हाल्न आफ्नो दावी प्रस्तुत गरिसकेका छन् । जसमा अध्यक्षका लागि सशक्त दावेदारका रुपमा भिटोफका पूर्व महासचिव एवं युवा व्यवसायी राजकुमार थापा देखिएका छन् ।

यसअघि पनि अध्यक्षका लागि उनले आफ्नो दावी प्रस्तुत गरेका थिए । तर सर्वसम्मत नेतृत्व चयन गराउने मञ्चको निर्णय अनुसार उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । 

थापा ‘ए वान एक्सकर्सन टुर्स एण्ड ट्राभल्स’ र ‘बल्थली ईको हिल रिसोर्ट’का संचालक समेत हुन् । यसका साथै विभिन्न संस्थाको विभिन्न तहमा रहेर काम गरेको अनुभवसमेत थापासँग छ ।

ग्रामिण विकास विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका थापाले ग्रामीण पर्यटनमा दुई दशक लामो अनुभव छ । सोही अनुभवका आधारमा आफूले अध्यक्ष पदका लागि दावी गरेको थापा बताउँछन् । 

दुई कार्यकाल भिटोफको कार्यसमितिमा बसेर काम गरिसकेको अनुभव उनीसँग छ । पूर्व अध्यक्ष चित्रबहादुर गुरुङ नेतृत्वको समयमा उनी महासचिव थिए । उनकै पहलमा देशका विभिन्न ठाउँमा ओझेलमा परेका गाउँहरुको पहिचान गरी प्रवर्द्धन गर्ने काम भएको थियो । 

त्यसपछिको कार्यकालमा भिटोफ नेतृत्वले सानातिना काम गरे पनि उल्लेख्य काम गर्न नसकेको आरोप सदस्यहरुबाटै आउने गरेको थियो । 

भिटोफलाई राष्ट्रिय रुपमै सशक्त संस्था स्थापित गराउन आफ्नो पहिलो प्राथमिकता रहने थापा बताउँछन् । नेपालका हरेक गाउँहरु पर्यटकीय दृष्टीले घुम्न लायक छन् र ती सबै ठाउँसम्म पर्यटक पु¥याउन पहल गर्ने आफ्नो मुख्य कार्यभार रहने थापा बताउँछन् । भिटोफ नेपाललाई डिजिटल रुपमा लैजाने सोच उनको छ । थापा भन्छन्, ‘आन्तरिक रुपमा मेरो सबै आकांक्षी साथीहरुसँग कुरा भइसकेको छ । तसर्थ अन्तिममा सबै साथीहरुले मलाई नै सहयोग गर्नुहुन्छ र म निर्विरोध रुपमा निवार्चित हुन्छु । पहिलेको सहमति हेर्ने हो भने पनि पालो मेरै हो ।’ 

मञ्चको आगामी नेतृत्वका लागि एक महिलासहित ६ जनाले अध्यक्षमा, ४ जनाले महासचिवमा र एक जनाले कोषाध्यक्षमा दावी प्रस्तुत गरिसकेका छन् ।

पूर्वमहासचिव राजकुमार थापासहित पूर्व प्रथमउपाध्यक्ष ध्रुव सिंखडा, वर्तमान प्रथमउपाध्यक्ष राम घले, द्वितीयउपाध्यक्ष दीपक दाहाल, वर्तमान महासचिव बासु पाण्डे र सचिव जस्पा पाण्डेले अध्यक्षमा दावी प्रस्तुत गरेका छन् ।

यस्तै संस्थाका वर्तमान कार्यसमिति सह–कोषाध्यक्ष कृष्ण बहादुर सुवेदी, पूर्व कार्यवाहक कोषाध्यक्ष दिपक खनाल, पूर्व सदस्य आशुतोष प्रधान र कार्यसमिति सदस्य केपी सुवेदीले महासचिवमा दावी प्रस्तुत गरेका छन् । महासचिवमा भने तीव्र प्रतिष्पर्धा हुने देखिए पनि सहमतिको प्रयास पनि जारी रहेको बताइएको छ । 

मञ्चका वर्तमान कार्यसमिति सदस्य राजकुमार धमला भने कोषाध्यक्षको एक्ला दावेदार हुन् ।

भिटोफ नेपालको साधारणसभा साउन १५ गते हुँदैछ । जसले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्ने छ ।

भिटोफ नेपालमा अहिले ६९७ जना सदस्य छन् । यसको शाखा हाल पोखरामा मात्र रहे पनि नयाँ नेतृत्वसँगै सबै प्रदेशमा शाखा खोल्ने सोच संस्थाले लिएको छ ।