Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


तुलसीको किन गरिन्छ पूजा ? केछ धार्मिक मान्यता ?


26
Shares

काठमाडौं । धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रुपमा लिइने गरिएको विज्ञहरूको तर्क छ । त्यसैले घरघरमा ‘तुलसीको मठ’ बनाएर तुलसीको पूजा गर्ने चलन बसेको हो ।

तुलसी सनातन धर्मावलम्बीका लागि ज्यादै महत्त्वपूर्ण वनस्पति हो । हरिशयनी एकादशीका दिन आँगनमा रोपेर चतुर्मासभर पूजा गरिन्छ।

चार महिनापछि हरिबोधिनी एकादशीको दिन विवाह गरेपछि तुलसीको पूजा अनुष्ठान पूरा हुन्छ।

भगवान् विष्णुको स्वरूपको रूपमा मानिन्छ, तुलसी। पुराणहरू विष्णुले वृन्दा श्राप पाई तुलसीको रूपधारण गरेको उल्लेख छ।

पुराणका कथाहरुमा जे भए पनि धार्मिक कार्यहरूमा नभई हुँदैन तुलसी। नारायणपूजामा तुलसीपत्र वा मञ्जरी अनिवार्य मानिन्छ।

श्राद्धमा पनि तुलसीपत्र चाहिन्छ। अरुपूजामा पनि नैवेद्य आदिमा तुलसीपत्र हाल्ने चलन छ।

तुलसीको मठलाई तीर्थस्थलसरह मानिन्छ। यहाँ माटो पनि पवित्र मानिएको छ। देवकार्य वा पितृकार्य तुलसीको मठनजिकै गर्नु उपयुक्त मानिन्छ।

वैज्ञानिक दृष्टिले पनि धेरै अक्सिजन फ्याँक्ने विरुवाको रूपमा यसको महत्त्व छ। यसको गन्धका कारण वरपर विषालु किराहरूले दुःख दिँदैनन्।

आयुर्वेदमा यसबाट बनेका अनेकौँ औषधि छन्। तुलसीका जरा, ठाँड, पात, फल र फूल(मञ्जरी)औषधिमा प्रयोग हुन्छ।

सनातन धर्ममा उल्लेख त्रिदेवमध्ये ब्रहमाले सृष्टि गर्ने, विष्णुले रक्षा गर्ने र महेश्वरले संहार गर्ने उल्लेख छ।

तुलसीले पनि मनिसको स्वास्थ्यरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने कारण यसलाई विष्णुको रूपमा वा विष्णुप्रियाको रूपमा पूजा गर्ने परम्परा रहेको बुझिन्छ।