२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


सिन्धुलीका पत्रकार कार्कीलाई प्रहरीले कुटे, होटलमा खाजा खाँदा लफडा


0
Shares

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति कार्कीलाई कुटपिट गरेका हुन् ।

प्रहरीको कुटाइबाट घाइते कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै ल्याइएको छ ।

कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ । हिजो राति स्थानीय शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा प्रहरी हबल्दार सनमसिं लामा र प्रहरी जवान विकास स्याङतानले विनाकारण कुटपिट गरेको पिडित पक्षको भनाइ छ ।

पत्रकार महासंघ सिन्धुली शाखाका पूर्वअध्यक्ष मीनकुमार दाहालसँग कुरा गरिरहेका बेला प्रहरी हबल्दार लामाले मोबाइलमा भिडियो खिचेको र भिडियो मेटाउन आग्रह गर्दा दुई प्रहरीले कार्कीलाई हिर्काइ भागेको बताइएको छ ।

पहिला फोटो खिचेर बाहिर कतै पठाएको अनि पछि भिडियो खिच्ने बहाना बनाएर कुटपिट भएको दाहालले बताए ।

घटनाको विरोधमा राति नै पत्रकारहरुले प्रहरी कार्यालय घेराउ गरेपछि प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दुवै प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरेर दोषी भए कारवाही गर्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कारवाहीको माग गरेको छ ।