
-बासुदेव बर्मा/ईमेज
कपिलवस्तु । कपिलबस्तु प्रहरीले मोष्ट वाण्टेडको सुचीमा राखेको फरार अभियुक्त नसिम अहमद मुसलमान उर्फ बाद्शाह पक्राउ परेका छन् ।
२०६३ जेठ १९ गते जिल्लाको मायादेवी गाउपालिका ३ फुलिका बस्ने धर्मराज बरईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको, २०६४ बैशाख १७ गते कपिलबस्तु नगरपालिका १ बस्ने सन्दीप कुमार गुप्ताको जीप रोकी हतियार देखाएर २ लाख लुटेको आरोप छ ।
त्यस्तै २०६४ फागुन ६ गते जिल्लाको मोतीपुर बस्ने प्रेम परियारलाई गोली हानी हत्या गरेको, २०६५ भदौ ३० गते कपिलबस्तु नगरपालिका १० बस्ने अकाला कोहारलाई गोली हानी हत्या गरेको, २०६५ कार्तिक ९ गते कपिलबस्तु नगरपालिका १ बस्ने तत्कालिन पिपरा गाबिस सचिव राम मिलन गुप्तालाई गोली हानी हत्या गरेको आरोप पनि छ ।
त्यसबाहेक मायादेवी गाउपालिका पकडी ६ बस्ने राजेन्द्र प्रसाद तिवारी , हथिहवा ३ बस्ने शिवपुजन कुर्मी र मायादेवी गाउपालिका ४ पिपरा वडाध्यक्षका ४ बर्षिय छोरा मोहम्मद अहेमान लगायतको हत्या अभियोग लागेका फरार अभियुक्त नसिम बादशाहलाई काठमाडौवाट पक्राउ गरी कपिलबस्तु ल्याइएको कपिलबस्तु प्रहरीले आइतवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
नसिमलाई कपिलवस्तुमा नसिम वादशाह भनिन्छ भने उनले अनौपचारिक कुराकानीमा आफुलाई वादशाह नै भन्ने गरेका थिए ।
कपिलवस्तु प्रहरीले मोष्टवाण्टेड सूचीमा राखेका नसिम काठमाडौमा १० दिनदेखि वस्दै आएका थिए ।
विभिन्न हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका उनी सिआईविको टोलीवाट शुक्रबार राती पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिप शमसेर जबराले बताए ।
विगतमा विभिन्न शसस्त्र समुहमा रहेर घटना घटाएका बादशाह तराईका शसस्त्र समुहसंग राज्यले गरेको वार्ताका पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए ।
तर उनी माथि विभिन्न जघन्य अपराधका मुद्धा दर्ता भएको र ती मुद्धाको सिलसिलामा प्रहरीले पुनः पक्राउ गर्ने संकेत पाएपछि उनी ३ वर्ष अघि एक सार्वजनिक कार्यक्रममा प्रहरी उपरीक्षक र प्रजिअकै सामुन्नेवाट स्थानीय नागरिकको घेरावन्दीमा पुनः फरार भएका थिए । तत्पश्चात उनी भारतमा वस्दै आएका थिए ।
यता एक वर्ष अघि कपिलबस्तुको मायादेवी गाउपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष फत्ते मोहमदका ७ वर्षिय छोरा आयान खानको एकवर्ष अघि हत्या गरेको समेत बाद्शाह माथी अभियोग लागेको छ ।
उनकी श्रीमति फौजिया नसिम खाँन नेकपावाट प्रदेश ५ का समानुपातिक सांसद वनेपछि उनी सरकारसंग विभिन्न पहल अघि वढाउँदै शान्ति पूर्ण राजनीतिमा आउने निरन्तर प्रयास जारी राखेका थिए ।
तर नेकपाको सरकारले उनी सहित अहिले पनि फरार रहेर भारतमै वस्दै आएका प्रितम पाण्डे लगायतलाई तत्काल कुनै संकेत दिएको थिएन ।
फलस्वरुप विभिन्न माध्यम लगाएर शान्ति प्रकृयामा आउने पहलकै लागि राजनधानीमा पुगेका वखत एक होटलवाट नसिम पक्राउ परेको उनको पारीवारिक श्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्