Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


आर्मी क्वार्टरफाइनलमा, संकटाको पहिलो जित


0
Shares

काठमाडौं, असार २० । त्रिभुवन आर्मी क्लब ललित स्मृति कप यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

तीन खेलबाट शतप्रतिशत नतिजासहित आर्मी अन्तिम आठमा पुगेको हो ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आफ्नो तेस्रो खेलमा आर्मीले थ्रीस्टार क्लबलाई ३–१ ले पराजित गर्‍यो ।

आर्मीका लागि कप्तान कैलाश लामिछाने क्षेत्रीले दुई तथा विपिन श्रेष्ठले एक गोल गरे । थ्रीस्टारका सन्जीव लामाले एक सान्त्वना गोल फर्काए ।

खेलकाक्रममा थ्रीस्टारका सुनिल कुँवरले आर्मीका खेलाडीमाथि हातपात गरेपछि रातोकार्ड खान पुगेका थिए ।

जितसँगै समूह ‘बी’बाट आर्मीले ३ खेलबाट ९ अंक जोडेको छ । थ्रीस्टार ३ खेलबाट १ अंकसहित कमजोर अवस्थामा रहेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबले २ खेलबाट ४ अंक जोड्दा मनाङ–मर्स्याङ्दी र फ्रेन्ड्स क्लबको समान १/१ अंक छ ।

संकटाको पहिलो जित

प्रतियोगितामा संकटा क्लबले पहिलो जित हासिल गरेको छ ।

शुक्रबारै भएको पहिलो खेलमा संकटाले च्यासल युथ क्लबलाई ३–१ ले पराजित गर्दै पहिलो जित निकालेको हो ।

संकटालाई जित दिलाउन विशाल शाही, अबिम शाही र राकेश गुरुङले एक/एक गोल गरे । च्यासलका धीरज मगरले एक सान्त्वना गोल फर्काए ।

यसअघि, संकटाले मच्छिन्द्र क्लबसित ४–० को फराकिलो हार व्यहोर्दा न्यूरोड टिम (एनआरटी)सित १–१ गोलको बराबरी खेलेको थियो ।

जितसँगै समूह ‘ए’को संकटाले ३ खेलबाट ४ अंक जोडेको छ । एनआरटी र हिमालयन शेर्पा क्लबको २ खेलबाट ४ अंक रहेको छ । मच्छिन्द्रको २ खेलबाट ३ तथा च्यासलले ३ खेलबाट १ अंक जोडेको छ ।

‘लिगकम नकआउट’का आधारमा ‘ए’ डिभिजनका १४ क्लबलाई तीन समूहमा विभाजन गरी खेलाइएको प्रतियोगितामा समूह चरणका विजेता र उपविजेतासहित उत्कृष्ट दुई तेस्रो स्थान हासिल गर्ने टिमले नकआउट चरणमा स्थान बनाउने छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले आयोजना गरेको प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।