१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुला


0
Shares

इस्लामावाद, असोज १४ । कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सुचारु हुन थालेका छन् ।

सरकारी अधिकारीहरुले झन्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झडै तीन लाख मानिस संक्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् ।

सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको जनाइएको छ ।

सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनकाक्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदन्ड पालनामा भने अत्यन्त कडाइ गरिएको छ ।

त्यसैगरी, मापदन्ड पर्याप्तरुपमा पालना भएको वा नभएकोबारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय शिक्षामन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताउनुभयो ।

कोरोनाभाइरसको महामारीकाबारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

पाकिस्तानमा अहिलेसम्म कुल तीन लाख १२ हजार २६३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ७४७ जना पछिल्लो २४ घन्टामा संक्रमित भएको पनि राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार यो अवधिमा थप पाँचजनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या छ हजार ४७९ जना पुगेको छ ।

पाकिस्तानमा अहिलेपनि कोरोनाभाइरसको संक्रमणका कारण ४६७ जना गम्भीर अवस्थामा रहेका छन् ।

मन्त्रालयकाअनुसार पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये दुई लाख ९६ हजार ८८१ जना अहिले पूर्णरुपमा संक्रमणमुक्त भइसकेका छन् ।

सरकारी अधिकारीहरुले पछिल्लो २४ घन्टामा ३२ हजार ३१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका छन् । पाकिस्तानमा अहिलेसम्म ३५ लाख १४ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ ।