Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, रितको शतक (१० तस्वीर)


0
Shares

काठमाडौं, असार २० । नेपाल समूह विजेता बन्दै मलेसियामा जारी १९ वर्षमुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।

पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो ।

किन्रारा ओभलमा नेपालले दिएको ३२७ रनको फराकिलो चुनौती पछ्याउनेक्रममा सिंगापुर ३९ ओभर २ बलमा ‘अलआउट’ हुँदै १०९ रनमा समेटियो ।

सिंगापुरका हरि कुकरेजाले सर्वाधिक ३० रन जोडेको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा नेपालका कुशल मल्लले ४, तिलकराज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले समान १/१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो ।

रित गौतमले १३७ बलमा अविजित रहँदै ११५ रन बनाए । खडक बोहोराले ९० बलमा ९० रन, कुशल मल्लले २३ बलमा अविजित रहँदै ५१ तथा पवन सर्राफले ४१ बलमा ४५ रन जोडे ।

रित ‘म्यान अफ दी म्याच’ घोषित भए ।

समूह ‘ए’को विजेता नेपालले अब समूह ‘बी’को उपविजेतासित प्रतिस्पर्धा गर्नेछ । चीनलाई हराएको सिंगापुरले समूह ‘बी’को विजेतासित खेल्नेछ । चीन दुवै खेल हारेर बाहिरिएको छ ।

शुक्रबारै भएको अर्को खेलमा हङकङले भुटानलाई १७० रनले हराएको छ ।