
काठमाडौं, असार ३२ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच भएको वार्ता बिना निष्कर्ष सकिएको छ ।
डा.केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि सरकारले सोमबार शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य सहसचिव रहेको वार्ता समिति हिजो गठन भएको थियो ।
जसमा गोविन्द केसीको तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र डा. अभिषेकराज सिंह रहेका छन् ।
हिजो निष्कर्षमा पुग्न नसकेपछि आज(मंगलबार) फेरि वार्ता गरिएपनि कुनै सहमति नबनेको हो ।
डा.केसीका प्रतिनिधि डा. अभिषेकराज सिंहले सरकारले ठोस निर्णय लिएर नआएसम्म वार्तामा नबस्ने बताए ।
सरकारले डा. केसीको माग पुरा गराउने गरी सरकारले वार्ता नगरेको र पेलेर जाने रणनीति देखिएपछि औपचारिक वार्ता हुन नसकेको सिंहको भनाइ छ ।
यता चिकित्सक संघले डा. केसीको माग ४८ घण्टा सम्म पूरा नभए देशका स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिइसकेको छ ।
माथेमा प्रतिवेदनले दिएको सुझाव वमोजिम नै चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने माग राख्दै डा. केसी जुम्लामा अनशनरत छन् ।
१८ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था भने खस्किँदै गएको उनको उपचारमा संलग्न चिकित्सक डा.पुजन रोकायले जानकारी दिए ।
डा. केसीको मुटुमा समस्या देखिएको छ भने रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुँदै गएको डा.रोकायले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्