
-गृष्मा राजभण्डारी, उत्तम मानन्धर र सुन्दर गुरुङ(ईमेज)
काठमाडौं । काठमाडौंको ऐश्वर्य बालगृहबाट उद्धार गरिएका बालबालिकाहरु आफ्नो घर फर्किन नपाउँदै भक्तपुर जिल्लाको सौडल महिला समाज संस्थाबाट बुधबार नौं जना बालबालिकालाई उद्धार गरिएको छ । त्यतिमात्र होइन बालबालिका ओसार–पसार गर्ने व्यक्ति पनि पक्राउ परेका छन् ।
भक्तपुर ताथलीको डाँडामा रहेको सानो टहरा अनि टहराभित्र टांगिएको धुलाम्मे बालगृहको बोर्ड, जहाँ लेखिएको छ ‘सौडल महिला समाज संस्था’ त्यसभित्र छन् हुम्लाका विभिन्न ठाउँबाट पठनपाठनका लागि भनि ल्याइएका ९ जना बालबालिका ।
बालबालिका हुम्लाबाट ल्याउने शूत्रधार हुन कल्पना बुढा र वीरसिंह सुनार । कल्पनाले बालबालिकाका अविभावकसँग उनीहरुलाई काठमाडौंमा लगी राम्रो शिक्षा दिने भन्दै ६० हजारसम्म असुल गरेकी थिइन ।
उनले बालबालिकालाई काठमाडौं ल्याएपछि सौडल महिला समाज संस्थाकी संचालिका सञ्चालिका कृष्णमाया न्हेमा फुकीलाई ९ जना बालबालिकालाई पाँच हजारदेखि २१ हजारसम्म दिएर राख्न लगाइन ।
बाँकी पैसा कल्पनाले आफ्नै खल्तीमा हालिन । ऐश्वर्य बालगृहमा अवैधरुपमा राखिएका बालबालिकाको उद्धार गरेको र सञ्चालिका पक्राउ परेको समाचार सार्वजनिक भएपछी कल्पनाले कृष्णमायालाई बालबालिका र उनीहरुलाई राखेबापत दिइएको रकम फिर्ता मागेपछि यो घटनाको रहस्योद्घाटन भएको हो ।
कल्पनाको निरन्तरको दबावपछि कृष्णमायाले प्रहरीको खोजतलास केन्द्रमा गइ सहयोग मागेकी थिइन ।
त्यसपछि नेपाल बाल कल्याण समिति, खोज तलास केन्द्र, समाज कल्याण परिषद र हिमाली नबिन समाजको समन्वयमा ती बालबालिकाहरुलाई बुधबार उद्दार गरिएको हो ।
एउटा सानो कोठामा राखिएका बालबालिको लागि न त राम्रो खानपानको व्यवस्था थियो न त भान्छा कोठामा खाद्यान्न नै ।
उद्दार टोली पुग्दा बालबालिका झट्ट हेर्दा खुशी झैं देखिन्थे उनीहरुले बालगृहमा सबै कुरा ठिकठाक रहेको भन्दै पढाइका लागि घर छोडेको बताए ।
उता बालगृहकी संचालिका कृष्णमाया भने आर्थिक अभावका कारण बालबालिकाको पालन–पोषण राम्रोसंग गर्न नसकेको स्वीकारिन ।
उद्धार गरिएका बालबालिकालाइ हाल हिमाली नबिन समाजमा राखिएको छ । बालगृहमा हुम्लाका बालालिका ल्याउने गरेकी हुम्ला निवासी कल्पना बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले बालगृहमा बच्चा राखेबापत कृष्णमायालाई २० देखि ४० हजार रुपैंयासम्म दिएको जिकिर गरिन ।
कल्पनासंगै पक्राउ परेका वीरसिंह सुनारले अभिभावकबाट जति रकम लिएको हो त्यति नै वालगृहकी संचालिकालाई दिएको बताए ।
समाज कल्याण परिषदका सहायक निर्देशक खगनाथ रेग्मीले बालगृह सञ्चालनका लागि तयार पारिएको निर्देशिका पालन नगरेको पाइए कारबाही गरिने बताए ।
कल्पना र वीरसिंहले विकट जिल्लाका अन्य बालबालिकालाई पनि राजधानीको विभिन्न बालगृहमा राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पछिल्लो समय एकपछि अर्को गर्दै अवैध बालगृह संचालकहरु पक्राउ पर्नुले यसमा ठूलै गिरोहको संलग्नता रहेको अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्