गोविन्द केसीको निष्ठाको भोक १९औं शृंखला • Image Khabar Image Khabar


गोविन्द केसीको निष्ठाको भोक १९औं शृंखला


Imagekhabar
११ आश्विन २०७७, आईतवार १६:५६

गोविन्द केसीको निष्ठाको भोक १९औं  शृंखला

संजिव कार्की

एउटा मान्छे जसको कुनै ठूलो सपना आफ्नो र आफ्नाको लागि छैन । जति सपना र चिन्ता छ त्यो यो देशको स्वास्थ्य शिक्षा र सुशासनको लागि छ । निर्धन, विपन्न र दुर्गममा बस्नेको स्वास्थ्य तिनलाई राज्यले दिने सेवा सुबिधा र तिनको पहुँच बिस्तारमा डाक्टर गोविन्दको अकण्टक चिन्ता, चासो खबरदारी र कुर्वानी छ । गोविन्द पटकपटक मर्न राजी भएको यो १९ औ चरण हो । यद्दपि उनका सबै माग पुरा भएका छैनन् । तिनै मागको निरन्तरताको खबरदारी हो सत्याग्रह । गोविन्दको सत्याग्रह निमुखाको न्यायको लागि हो तर सबै निमुखा, निरिह र निम्न आर्थिक राजनैतिक सामाजिक हैसियत भएका सिमान्तकृत बर्ग र समुदायले यो बुझ्न सकेका छैनन् । केसीका अनुयायीले बुझाउन पनि सकेका छैनन् । किनकी केसीका अनुयायीको कुनै संगठित संघ सङ्गठन छैन ।

जब केसी सत्याग्रह बस्छन तब मात्र उनका समर्थकहरु सत्याग्रह सफल बनाउन र उनको सत्याग्रह तोडन सरकारसँग बिभिन्न रचनात्मक संघर्षका कार्यक्रम गरेर लडन, भिड्न प्रदर्शन गर्न दबाब सिर्जना गर्न लाग्छन । जब अनसन समाप्त हुन्छ तब समर्थक आआफ्नै लय र काममा व्यस्त हुन्छन । केसीका समर्थक सबै पार्टीका छन् तर तिनीहरु आफ्नो स्वार्थ अनुकुल सत्याग्रहमा जोडिने र बिरोधमा उत्रने गर्छन । सत्ता बाहिर हुँदा सबै केसीको अनन्य भक्त झैं हुन्छन तर जब सत्तासिन हुन्छन केसीलाई ठूलो दुश्मन सम्झन्छन । त्यसैले केसीका स्थायी समर्थक संगठित समर्थक नभएकोले जनस्तरसम्म यो मुद्दा स्थापित बन्न कम सकेको छ । उनलाई स्वास्थ्य सेवा गर्न र औसधि खरिद गर्न समेत बन्देज लगाएर अत्यन्त अमानवीय हर्कत गर्ने सरकार छ ।

सामान्य मान्छेहरुको दलगत आस्थाको कारण केसीको अभियान र बिशुद्द समाजसेवा, मानवीय धर्म र सुशासनको यात्रालाई अनेकन फण्डा, आरोप र लान्छना लगाउन पुग्छन । केसीलाई कहिले कुन पार्टीको त कहिले कुन पार्टीको समर्थन गरेको आरोप लाग्छ । राजनीतिक रुपमा हिजो पनि कसैसँग वापवैरी नभएको र आज पनि छैन र भोलि पनि हुनेछैन भन्ने केसीको उक्ति विरोधीहरु विश्वास गर्दैनन् । तर केसी आफू राजनीति नगर्ने र भएपनि राजनीति बुझ्न र राजनीतिकर्मीले आफ्नो सिद्दान्त अनुसार ब्यवहारमा कार्यन्वयन गर्न नसकेको भने बुझछन र त्यसैमा रुष्ट बनेर प्रतिक्रिया गर्छन । सरकार अभद्र ब्यबहार गरेर एक सत्याग्रहीको हुर्मत लुट्छ । १९ औं अनशनको छैटौ दिन राती १०ः ३० मा केसीलाई जुम्ला प्रशासनले जुन निक्रिस्ट हर्कत गर्यो त्यो निन्दनीय छ ।

सत्याग्रहीको मन्जुरी बिना कसैले उनलाई छुन समेत मिल्दैन । तर राज्य आफैं ‘गुण्डागर्दी शैली’ मा उत्रेर रातारात कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइयो त्यो केसीको सम्मान र जीवन रक्षा नभएर अपमान र ताडना हो । केसी ‘मेरो माग पुरा गरे हुन्छ म मेरो स्वास्थ्यको ख्याल आफै राख्छु । मेरो माग पुरा गरेमा सरकारले मेरो चिन्ता लिनु पर्दैन ।’ यहाँ चिन्ताको अर्थ हो अनावश्यक टर्चर र ज्यादती । जुम्लामाको एक पाखाको मन्दिरमा अनसन बसेका केसीलाई सरकारले उठाएर बलजफ्ती गर्यो सो बलजफ्ती आफ्ना समर्थकहरुमा पनि हुने २०७५ साउनमा झैं भन्ने चिन्ताले केसीले जुम्ला छोड्न चाहेका हुन् ।

जुम्लाको कर्णाली विज्ञान प्रतिष्ठानमा गोलि चलाएर डाक्टर, नर्स, स्वास्थ्यकर्मी लगायत केसी समर्थकमाथि गोली समेत हानेको विगत पुनः नदोहोरियोस भनेर केसी आफ्नै निर्णयमा काठमाडौँ आउने भए, आए । काठमाडौँ एयरपोर्ट ओर्लन साथ प्रहरीले अपहरणको शैलीमा उनको शिक्षण अस्पताल महाराजगन्ज जाने इच्छा विपरित ट्रमा सेन्टर लग्यो र ट्रमामा ओर्लन नमान्दा जुन बल प्रयोग गरेर प्रहरीले घोक्र्याई मुन्टयाई गर्यो त्यो जति निन्दा गरे पनि कम हुन्छ । ठुलै कसुरको अपराधी झैं देशको एक सम्मानित प्राध्यापक ,डाक्टरलाई त्यसमाथि सत्याग्रहमा बसेको बेला गरेको दुर्व्यहारले सरकारको सोच र शैलीबारे प्रस्ट बताउँछ । व्यक्तिको कुन अस्पताल र कहाँ जाने आफ्नो स्वेच्छा हो त्यसमाथि उनी सत्याग्रहमा रहेका व्यक्ति त्यो धरपकड अनावश्यक र असभ्यता असहिष्णुता हो त्यो राष्ट्रिय लज्जाको बिषय हो ।

हुन् त चोर ठग ,भ्रष्टचारीको भान्सामा भुजा ज्युनार गर्नेहरुको नियत यो भन्दा फरक अपेक्षा गर्नु आफैमा गलत हो । राज्य सत्ताधारी र सत्ताका तावेदारी खराब भए भन्दैमा अरु आम सर्वसाधारण बौद्दिक जमात चुप बस्न मिल्दैन । नाजायज र राज्यको दायित्व कर्तव्य र नैतिकता भन्दा पर गएर गोविन्दले जिद्दी गरेका भए अहम प्रदर्शन गरेका भए उनको सतिजानु आवश्यक छैन । तर जनताका मुद्दा, सुशासनका मुद्दा उठाएर त्यो पुरा गर्न राज्यलाई दबाव दिन खोजेका हुन् भने उनको पक्षमा नबोल्नु नलाग्नु निकम्मापन, नालायकी र देशद्रोह नै हुनजान्छ ।

शान्तिपूर्ण सत्याग्रहबाट राज्यमा परिवर्तन गर्न सकिन्छ भने किन सरकारलाई लिकमा हिंडाउन गरेको प्रयासमा साथ नदिने, समर्थन नगर्ने ? गोविन्दको सत्याग्रह देश बिरुद्द, राज्य सत्ता बिरुद्द विप्लव होइन । उनले कसैलाई सत्ताच्युत गर्ने र कसैलाई प्रतिस्थापन गर्ने या आफैं सत्तामा जाने उदेश्य र मनसाय राखेका छैनन् । ओली ओरालेर आफू बस्ने उदेश्य बोकेका छैनन् । यसर्थ यो सरोकार उनको आन्दोलन र दबाबमा सत्ताधारी र तिनका नेता कार्यकर्ताको पनि हो । गोविन्द केसीका माग सम्बोधन गर्दा सरकारलाई हानी छैन । बरु कालान्तरसम्म नाम लिनसक्ने काम र कर्तव्य पुरा हुन जान्छ । एक नागरिकले दिएको सुझाब र राखेको मागमा बिमति जनाउनु पर्ने कारण छैन यदि कारण छ भने त्यो माफियाहरुको ऋणधन सापटी सहयोग र राज्यलुटमा दिएको सहुलियतको खिलाफमा मात्रै हुन्छ आम जनताको पक्षमा रहन्छ । नेकपाका नेताकार्यकर्ता आम मान्छेको पक्षमा कि सिमित स्वार्थी माफियाहरुको रजगजमा ? विवेकी नेकपा भित्रका नेताकार्यकर्ताले आफ्नो भविष्य र इज्जतमा बन्चरो नहानुन केसीको माग पुरा गर्दा नेकपा हार्दैन बरु जित्छ अरु बलियो बन्छ । आफ्नो सुकर्म अरु फराकिलो बनाउन सक्छ ।

तसर्थ ओली सरकारलाई दबाब नेकपाले पनि दिने हो ? प्रश्न सोध्ने हो केसीको माग पुरा गर्दा कुन समाजवादी भर्यांग उकलन असजिलो हुन्छ ? कुन मागले जनवादी कार्यक्रम लागु गर्न बाधा पार्यो ? उनका भ्रस्टाचार निवारण छानबिन र दोषीलाई कार्यबाही गर्ने मागले सुशासन र पारदर्शी राज्य प्रणाली बनाउने अभियानलाई कम्जोर गराउछ, आदि इत्यादी प्रश्न आफ्ना नेता मन्त्री, प्रधानमन्त्री सम्म राख्ने गर्नुपर्यो ताकी पार्टी अलोकप्रिय र बदनाम नबनोस । हुनत यो सल्लाह मैले दिनु आवश्यक होइन । तर पनि अलमल र दुबिधा भए आग्रह छोडेर केसीका माग बिगत र बर्तमानमा नियाल्नु राम्रो हुन्छ । आफ्नो स्वार्थको लागि केसी आन्दोलनको बुइ को चढेन ? कसले आफ्नो पक्षमा सत्यग्रहलाई उपयोग गर्न चाहेन ? जनसरोकारको गम्भीर मुद्दा उठाएर केसी बोल्न थालेको आज पक्कै होइन ? करिब १० वर्ष हुन लाग्यो । शिक्षा र स्वास्थ्यको कालो व्यापार बनाउने धन्दाको बिरुद्द धावा बोलेको । कसको लुट छैन कलेज र अस्पतालमा को मालिक छैनन् ? पार्टीका नेताहरु को अछुतो छन स्वास्थ्य र शिक्षालाई व्यापार बन्न नदिएर बसेका ? शिक्षा र स्वास्थ्यलाई धन्दा होइन पार्टी नीति शिक्षा र स्वास्थको निजीकरण बिरुद्द बनोस । केन्द्रिकृत मेडिकल शिक्षा र स्वास्थ्य विकेन्द्रित भएर आम नेपालीको पहुँचमा पुगोस । के यो माग अनुचित र कार्यन्वयन गर्न नसकिने छन् ? राज्यले अन्यत्र अनावश्यक फजुल काममा गरेको खर्च स्वास्थ्यको प्राथमिकतामा खर्च गर्ने हो भने खर्च पनि जुटाउन नसकिने होइन ? पार्टीहरुले नेताहरुले माफिया मोह र द्रव्य मोह त्यागेर जनताको मोह राख्ने हो भने डाक्टर केसीले गरेका सबालको जबाफ तुरुन्त पाइन्छ । डाक्टर
डाक्टर गोविन्द केसीको अभियानले सारा नेपाली खुसी हुनुपर्छ ।

कुनै दल सरकार ,व्यक्ति र संस्थाप्रतिको प्रहार होइन ,केवल मेडिकल शिक्षा र सेवाको बिकृति रविसंगति प्रतिको प्रहार हो । क्षुद्र स्वार्थको लागि देश दुनियाकै स्वास्थ्यलाई नाफा घाटासँग जोड्ने ,द्रव्यलाई मात्र सबथोक ठान्ने, स्वास्थ्य सरोकारलाई फाइदा, बेफाइदाको हिसाबमा मोलमोलाई गरि व्यापार बनाउन चाहने त्यस्ता कालाब्यापारी र तिनका संरक्षणकर्तालाई मात्र योअभियान चिन्ताकोबिषय हो । आम नेपाली जनतालाई खुशी र गौरबको कुरा हो । नेपाली जनताको स्वास्थ्यको लागि आफनो भौतिक जीवन बारम्बार दाउमा लगाउने एउटा नेपाली त् छ ? अब उसलाई बचाउने या भोकै मार्ने हाम्रो पनिदायित्व छ कि छैन ? हाम्रा तर्फबाट पनि चौतर्फी दबाब आवश्यक छ ।

१४ दिनको अनसनले थलिएको जिर्ण शरीर निष्ठाको भोकसँग जीवन मरणको संघर्षमा छ । नेपाली जनताको स्वास्थ्य शिक्षा ,सुशासन अनि बिभिन्न सरोकार राखेर गोविन्द भोको बसेको आज सम्म २३६ दिन भयो । निष्ठाको भोकले आजसम्म १९औं पटक एउटा सामाजिक अभियन्ता इन्तु न चिन्तु भएर लडेको छ उसलाई बचाउने या तड्पाई तड्पाई मार्ने ? विवेकको प्रयोग गरौं, सबैको साथ् र सहयोगले योअभियानले सार्थकता पाउन सक्छ । सत्य हार्दैन ? सचेत प्रयत्न गरौ आआफना ठाउबाट । भोलि चुकचुकाउने र पछुताउने गर्नुभन्दा आजै जे गर्नु पर्ने हो, गरौविलम्ब नगरौं ।

(लेखक कार्की सत्याग्रही केसीको अनसनको शुरुवातदेखि नै केसी अभियानमा आबद्द छन)

प्रतिक्रिया दिनुहोस्