क्याम्पस प्रमुखसहित फरार सूचीमा • Image Khabar Image Khabar


क्याम्पस प्रमुखसहित फरार सूचीमा


रासस
९ आश्विन २०७७, शुक्रबार २१:३३

क्याम्पस प्रमुखसहित फरार सूचीमा

काभ्रेपलाञ्चोक, असोज ९ । बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीनजनाविरुद्ध साताअघि ठगी मुद्दा दायर गरिएको छ ।

गत शैक्षिकसत्रमा कक्षा-११ र १२ मा अध्ययनरत् कम्प्युटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरु ठगिएको जनाउँदै बिगो दाबीसहित यही असोज १ गते मुद्दा दर्ता गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बनेपाले यही असोज २ गते क्याम्पस प्रमुख के जी बैदार, व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ र व्यवस्थापन समिति सदस्य कृपेन्द्र श्रेष्ठविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको छ ।

‘पक्राउ पुर्जी जारी भएपछि फरार तीनजनाको खोजी भइरहेको छ’-इप्रका बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो ।

उहाँकाअनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट तीनैजनाको नाममा पक्राउ पुर्जी आदेश ल्याएपछि इप्रकाद्वारा पुर्जी जारीपछि आरोपितको खोजी भइरहेको हो ।

उहाँले भन्नुभयो-‘आरोपितहरु पक्राउ पुर्जी जारीलगत्तै काठमाडौंमा लुकेको आशंका छ । हामी उनीहरुलाई खोजतलास गरी पक्राउ गर्न खटिरहेका छौं । आरोपित सबै बनेपा निवासी हुुनुहुन्छ ।’

क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराइ परीक्षामा सामेल गराएकाले भविष्यमाथि खेलबाड गरेको जनाउँदै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले क्याप्पस प्रमुखको राजीनामा मुख्य शर्तसहित विद्यार्थीको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै गत माघ २६ गतेदेखि प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको थियो ।

प्रहरी अनुसन्धानका लागि सात महिनापछि बिहीबार तालाबन्दी खोलिएको अनेरास्ववियूका केन्द्रीय सदस्य शालिकराम पराजुलीले बताउनुभयो ।

पराजुलीकाअनुसार कक्षा-११ र १२ मा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अंग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

‘राष्ट्रिय परीक्षा बोर्डले स्नातक तहमा कम्युटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने र करिकुलम नमिलेका कारण कक्षा-११ का विद्यार्थीलाई परीक्षामा सामेल गराउन नसकिने जानकारी दिएपछि कलेजको ठगीधन्दा खुलेको हो’-पराजुलीले भन्नुभयो ।

क्याम्पसले पाठ्यक्रम विकास केन्द्र र तत्कालीन राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको पाठ्यक्रमबेगर आफूखुसी विषय राखी स्नातक तहमा कम्प्युटर इन्जिनियर बन्न पाउने झुटो आश्वासन दिइ कम्प्युटर इन्जिनियरिङ (प्राविधिक)मा भर्ना लिएको र शैक्षिकसत्रको अन्त्यमा परीक्षा बोर्डको परीक्षालाई नै दोष दिइ कक्षा-११ मा कम्प्युटर इन्जिनियरिङ विषयका विद्यार्थीमध्ये आधालाई कम्प्युटर विज्ञान तथा आधालाई विज्ञान संकायतर्फ पठाएको अभिभावकको आरोप छ ।

‘क्याम्पस प्रशासनले कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर विज्ञान उस्तै हो भनेर विद्यार्थीलाई भ्रममा राखेको पाइयो’-पराजुलीले भन्नुभयो ।

क्याम्पस प्रमुख बैदारले भने केही बाहिरी तत्वले क्याप्पसको गरिमालाई घटाउन विभिन्न गतिविधि गरेको आरोप लगाउँदै विधिसम्मत् ढंगले कक्षा-११ र १२ को अध्यापन भइरहेको दाबी गर्दै आउनुभएको थियो ।

क्याम्पसका विभिन्न संकायमा करिब एक हजार विद्यार्थी अध्ययनरत् छन् ।

उक्त क्याम्पसमा कक्षा-११ र १२ अध्ययनपछि ५५ जना विद्यार्थी फरक विषयको परीक्षामा सामेल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्