‘युगीन गुरुकुलीय शिक्षाः आजकालाई दीक्षा’ • Image Khabar Image Khabar


‘युगीन गुरुकुलीय शिक्षाः आजकालाई दीक्षा’


Imagekhabar
९ आश्विन २०७७, शुक्रबार १६:०६

gurukul education system

उद्धव कुईंकेल

१.गुरुकुल इतिहास:-

आधुनिक सभ्यताका पछिल्ला प्रामाणिक अभिलेखमा आधारित मानवशास्त्रानुसार इ.पू. करिब 1500 वर्षअघिको सिन्धु घाटी मोहन जोदाडो सभ्यता सर्वप्राचीन मानिन्छ । यही अवधिमा दक्षिण-पश्चिम एसिया अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म र यही भेगको उत्तर हिमालय पर्वतमालादेखि दक्षिण हिन्द महासागर तटसम्मको विशाल क्षेत्र प्राचीन गुरुकुल शिक्षाको उद्गम तथा उर्वर भूमि प्राग्-ऐतिहासिक तथ्यपरक गणनामा पर्छ।

यसको केन्द्रविन्दु विश्व गौरव बौद्ध-दर्शन उद्-बोधनस्थल नेपालस्थित आर्य-अनार्यजनको पवित्र तीर्थ नगरी जनकपुर धाम रहेको बताइन्छ। यसबाहेक तक्षशिला, नालन्दा, विक्रमशिला, वल्लभी र सोमपुरा आदि नाम गरिएका अखण्ड भारतवर्षका अथाह ज्ञान मुहानका गरिमामय गुरुकुल स्थापित-विस्थापित शिक्षण संस्थाहरु पनि विश्व विख्यात छन्। त्यतिबेलादेखि आजपर्यन्त कालक्रममा घटबढ नै भए पनि यहीँबाट अविछिन्न प्रसारित ज्ञाननदी वेगको अविरल बहावको धार यहाँ प्रस्तुत छ।

पूर्व ऋषिकुल, मातृकुल, पितृकुल हुँदै गुरुकुल परम्परामा रूपान्तरण भएको शिक्षा माता-पिता, अतिथि, आचार्यका मन्त्रदान, तान्त्रिकी, बुद्धिष्ठका शान्ति- तन्त्रगान र देव-शिल्पकार विश्वकर्माको यन्त्रयान ज्ञान नै प्राचीन शिक्षाको जग हो। यही जगमा यसका केही निम्न रूपाकृतिहरु देखिएका हुन्। पूर्वीय दर्शन सहायक संस्कृतिमा आधारित गुरुकुलीय शिक्षा पद्धति प्राचीन गुरुशिष्य गौरवमय परम्पराको उत्तम साँस्कृतिक प्रणाली हो। यो कालक्रममा ब्रह्म, प्राकृत प्राचीन, आधुनिक तथा प्रचलित विविध कारणले युग आवश्यकतानुसार यसका मूल रुप र प्रतिरुप समयानुकूल फेरिएका छन् ।

लिपि अर्थात अक्षर लेखन संकेत-चिह्न प्रचलन पूर्व श्रुति, स्मृति जस्ता कठोर अभ्यास र कडा अनुशासन विधिबाट पठनपाठन गर्ने परिपाटी थियो। यो परिपाटी आदि-मानव मूल सभ्यताको पूर्वीय वैदिक र पौराणिक कालपछिको लामो समयसम्म र यसबाहेक पश्चिमा ग्रीक सभ्यता विकासक्रम सहितको अरु पनि ज्ञात अज्ञात मानव सभ्यता सिलसिलाको प्रक्रिया पछिल्लो काल पर्यन्त रह्यो। यसै क्रममा थोरै संख्यामै भए पनि समयान्तर परिवर्तन हुँदै र अनेक काल चरण पार गर्दै गुरुकुलीय शिक्षा ऐतिहासिक रूपमा अद्यापि जीवन्त छ।

२.गुरुकुलीय चिनारी र विशेषता:-

प्राचीन परम्परामा गुरुकुललाई गुरुको आश्रम, गुरु घराना, गुरु खलकका स्वाध्ययन तथा शिष्य
अध्ययनशाला अर्थात गुरु शिष्य अध्ययन अध्यापन गर्ने केन्द्र आदि अनेक नाममा परिभाषित गरिएका थिए र छन्। त्यतिबेला यो जति सान्दर्भिक थियो आज पनि उत्तिकै छ । आज संसारभरि भारोपेली, तिब्बत-बर्मन, द्रविड र अस्ट्रो एसियाली यी प्रमुख भाषिक परिवारभित्र करिब ६,९७० भाषा जीवित रहेको कुरा तथ्यमा देखिन्छन्। उक्त भाषिक परिवारमा भारोपेली परिवारभित्र सर्वप्राचीन संस्कृत भाषा पर्दछ।

यसको भाषिक नियम र मूल आधार आधुनिक विज्ञान सिद्ध सर्वमान्य अष्टाध्यायी पाणिनी व्याकरण हो। यसैको शिक्ष् विद्योपादाने´धातुबाट बनेको शिक्षाको शाब्दिक अर्थ ग्रहण गर्नु वा लिनु भन्ने हुन्छ। यही परिवारभित्र पर्ने अर्को यूरोपेली, मूल थलोको प्राचीन ल्याटिन भाषाकोएडूकेटम्´ दुई शब्दबाट बनेको educo´(एडूको) अर्थले पनि हरेक व्यक्तिलाई अन्तस्करणबाट प्रेरित गर्ने अर्थात् आत्मदर्शन गर्नु गराउनु भन्ने अर्थबोध गराउँछ। यहीएडूकेटम´ शब्द नै पछि अंग्रेजीमा एजुकेशन भएको
आजको प्रचलित आधुनिक शिक्षा हो ।

यसरी शिक्षा भन्नाले नानाथरिका घटना, व्यक्तिसंगत, वस्तु र अन्य विभिन्न सन्दर्भ विशेष विषयबाट
आर्जन गरिने उन्नत गुण बुझिन्छ। यसलाई उपदेश, प्रेरणा, सुझाव, सल्लाह, सन्देश र परामर्श पनि भन्न सकिन्छ। मानव समाजका विविध क्षेत्रका उदाहरणीय ज्ञानयोगी ,कर्मयोगी तथा अन्यान्य आदर्शजनबाट यस्ता बहुपयोगी शिक्षा पर्याप्त मात्रामा उपलब्ध हुन्छन् । यिनलाई कतिसम्म ग्रहण गर्न सकिन्छ त्यो व्यक्तिको रुचि , आवश्यकता,अवस्था,देश र कालमा भर पर्दछ।

बाल्यावस्थाको मातृकुल शिक्षा पछिको गुरुकुल शिक्षा प्रभाव अनादिकालदेखि वैदिक,पौराणिक र
पुरातन सिन्धु सभ्यता गुज्रँदै हालको अाधुनिक अवस्थासम्म युगौँ युगको प्राकृतिक र परिष्कृत स्थिति रहि-आएको छ। यद्यपि आज शिक्षा, रोजगारी, व्यावसायिक, प्राविधिक र भौतिक सुखोपभोग खोज अनुसन्धानमा मात्र सीमित हुन पुगेको छ। यो सर्वत्र सधैँ असीमित विषयमा दक्षता दिने ज्ञानस्रोत हो। यो ज्ञान-स्रोतको प्रभाव सदा अटुट रहने कुरा भने निर्विवाद छ।

बदलिँदो मानव पुस्ता र परिवर्तित समयानुसार शिक्षाको प्रकृति र प्रवृत्ति फेरिएको छ। यसको
पठनपाठन शैलीमा उन्नत साधनको यथेष्ठ उपलब्धता, आवागमनको सहजता एवम् ज्ञान स्रोतको सुविधा जस्ता कुराले केही भिन्नता देखिए पनि गुरुकुल शिक्षाको महत्व दिनानुदिन झन्-झन् बढ्दो छ। भावी दिनमा अझ बढी यसको सर्वस्वीकार्य अपरिहार्यताको महसुस सबैमा हुनेछ। असहज प्राप्य जटिल मानव जीवन भोगाइलाई सरल र सार्थक जीवनमा रुपान्तरण गर्ने यो परम्परित मान्यतालाई ईश्वरीय वरदान भन्दा फरक नपर्ला ।

यसरी प्राचीन कालमा गुरुको आश्रम वा गुरु वासस्थानमा बसी गुरुको आदेश सर्वोपरि ठानेर शिष्यले
शिक्षा आर्जन गर्थे। गुरुको मुखबाट निस्केका ज्ञानलाई कण्ठस्थ पारी तत्कालीन समाजका प्रचलित
मूल्यमान्यता, जीवन शैली र धार्मिक गतिविधि आदिको बारेमा शिष्यजनले शिक्षा हासिल गर्थे। गुरुकुल शिक्षा प्रणालीमा श्रवण, मनन, प्रदर्शन, विचार विमर्श, बहस तथा शास्त्रार्थ अथवा कुनै एक विषयमा पक्ष विपक्षमा गरिने स्वस्थ तर्क-वितर्क विधिद्वारा विद्यार्थीको योग्यता र वरिष्ठता निर्धारण हुन्थ्यो ।

धार्मिक जातिगत र व्यावसायिक गरी प्राचीन गुरुकुलमा तीन तहको शिक्षा प्रदान गरिन्थ्यो। वेद, पुराण, न्याय, दर्शन, उपनिषद् र साहित्य आदि भाषा, धर्म तथा विज्ञान बाहेक राजनीति, अर्थनीति र दण्डनीति एवम् कृषि, पशुपालन र व्यापार आदि व्यवसायसँग सम्बन्धित विषयहरु पढाउने त्यतिखेरको प्रचलन नै आजकल यो विकसित अवस्था हो। यसरी नै महिला र पुरुष बीचमा शिक्षा आर्जनको समान अवसर पनि हुन्थ्यो। तर पठनपाठन गर्ने थलो भने मर्यादित रुपमा पृथक पृथक ठाउँमा निर्धारण गरिएको पाइन्छ ।

३. गुरुकुल शिक्षाका भेद-उपभेद:-

शिक्षाका ब्रह्म वा ब्रह्मयोग, प्राकृत प्रयोग, भौतिकभोग, सामाजिक उपयोग तथा विज्ञान र प्रविधि
सहयोग जस्ता धेरै भेद र उपभेद छन्। यी सबैले मानव जातिलाई परापूर्वदेखि वर्तमानसम्म अपरिमेय ज्ञान ज्योति र अतुलनीय सीप दक्षता प्रदान गर्दै आइरहेको छ।

(क)ब्रह्मयोग शिक्षा:- ब्रह्म वा ब्रह्मयोग शिक्षामा ब्रह्मज्ञान सम्बन्धी अर्थात् सचराचर ब्रह्माण्डको सृष्टि-
पालन-लय- कर्ता एक मात्र अनिर्वचनीय, अनन्त ईश्वरको साकार निराकार स्वरुप पूजन, चिन्तन र वन्दन आदि सांख्य, मिमांश, वैशेषिक, योग, न्याय, र वेदान्त शास्त्र सम्मत गहन तत्त्व व्याख्यानका षड्दर्शन विषयग्रन्थ पर्दछन्। यससँगै शिक्षा, कल्प, ज्योतिष, निरुक्त र व्याकरण जस्ता वेदाङ्ग ब्रह्म चिन्तन, भू-खगोलीय ग्रह अध्ययन तथा अन्य विविध विषय अभिव्यक्ति प्रयोजन ब्रह्म स्वरूप भाषा-शास्त्र नियमन आदिका कुराहरु पनि यही ब्रह्मयोग शास्त्र अन्तर्गत समेटिन्छन्।

(ख) प्राकृत प्रयोग शिक्षा:- भूमण्डलको पर्यावरण शान्ति र समस्त प्राणीहितसँग सम्बन्धित प्राकृत प्रयोग शिक्षामा पृथ्वी, जल, तेज, वायु र आकाश प्रमुख पञ्चतत्त्व पर्दछन्। पृथ्वी तत्त्वमा बैगुनीलाई गुनले जित्ने गन्धशक्तिको बेजोड घ्राणतत्त्व हुन्छ। अरुलाई उपयोगी भएर स्वयंलाई भने अनुपयोगी हुने गुण जल तत्त्वमा हुन्छ। तेज तत्त्व अन्तर्गत सौर्यमण्डल मातहतका ग्रह-उपग्रहमा र यी भित्रका पदार्थ तथा प्राणीमा भरपूर उर्जा, वर्षा र प्रकाश पुञ्ज प्रदायक त्याग एवम् दानजस्ता सद्-गुण सूर्यबाट मिल्छ। सृष्टि पदार्थको गुणदोषमा घुलमिल हुँदाहुँदै पनि त्यसबाट आफूलाई टाढा राख्ने तटस्थ भावको पाठ वायुबाट पाइन्छ । सृष्टि जगतका सबै वस्तु र जीवसित जोडिएर तिनमा अाफ्नो प्रभाव जमाउने तर तिनका स्वभावबाट भने स्वयंलाई स्वतन्त्र वा असंलग्न राख्ने विशिष्ट पहिचान क्षमताको प्रेरणा आकाशबाट लिन सकिन्छ ।

प्राकृत गुरुकुलीय शिक्षाभित्र आयुर्वेदसंग सम्बन्धित वनस्पतिजन्य जडीबुटी प्रशोधन, प्राणी बहुउपयोगी प्राकृतिक वस्तु दोहन र मानव मनमस्तिष्क दोष विकार परिशोधन आदि बाहेकका समग्र जीव कल्याणका अरु पनि असल सन्देशहरु पर्दछन्।

(ग) भौतिक भोग शिक्षा:- भौतिक भोग गुरुकुलीय शिक्षाका अनेक पाटो र बाटो मध्ये यो एक हो। मानव जीविकोपार्जन सम्बन्धी अल्पकालीन र दीर्घकालीन विभिन्न रचनात्मक काम कुरा यस अन्तर्गत पर्दछन्।यसमा कृषि उत्पादन, पशुपालन,वनजङ्गल वनस्पति, संवर्ध्दन तथा लघुमध्यम घरेलु र बाह्य व्यवसाय सञ्चालन पनि पर्छ। यसरी नै नित्य नौलो अविष्कार, भौतिक निर्माणादि, वैज्ञानिक खाद्य उत्पादन र अन्य विषय यही शिक्षा कै प्रकारान्तर विकसित रुप हो। यति मात्र नभएर यस जगतमा जति पनि उपभोग र उपयोगका खाद्यान्न, वस्त्र, औषधोपचार, घर, कार्यालय,विद्यालय बाहेकका विविध विषयका कार्यक्षेत्रमा प्रयोग गरिने साधन तथा आवागमन वाहन आदिका अनगिन्ती वस्तुहरु,र उपकरणहरु छन्। ती सबलाई प्राप्त गर्ने उपायको ज्ञान समेत भौतिक भोग शिक्षा नै हो। त्यसैले आजको भौतिक उन्नतिको अटल कारकको रुपमा यो शिक्षा प्रमाणित छ।

(घ) समाज उपयोग शिक्षा:- एकल नभै समुदायमा बस्न रुचाउने उच्चकोटिको सचेतन प्राणी भएकोले मानव सामाजिक कहलिएको हो। त्यसो हुँदा उसलाई समाजोपयोगी ज्ञानको खाँचो पर्छ। यो आवश्यकतालाई पुरानै गुरुकुलीय शिक्षा परम्परामा केन्द्रित रहेको र हालमा नयाँ नाम दिइएको समाजशास्त्र र नागरिक शास्त्रबाट उसले पूरा गर्छ। जीवनोपयोगी विविध विषयका संगालो नै समाजोपयोगी शिक्षा हो। यसमा मानव जीवनसँग दैनन्दिनी सरोकार राख्ने उचित खान-पान उपयोगी ज्ञान-विज्ञान, स्वावलम्बी शिक्षा-दीक्षा, सभ्य-शिष्ट विचार-व्यवहार तथा सर्वमान्य संस्कार-सदाचार जस्ता विशेष फलदायी गुणस्तरीय उपदेशात्मक र प्रयोगात्मक थप कुराहरु पर्छन्।

(ङ)विज्ञान र प्रविधि सहयोग शिक्षा:- विज्ञान र प्रविधि सहयोग शिक्षा पनि प्राचीन गुरुकुलीय परम्परामा प्रदान गरिन्थ्यो। निजी वास वा व्यक्तिगत घर, सार्वजनिक आवास अथवा पाटी-पौवा, सत्तल र धर्मशाला एवम् राजकाज निवास, विशाल दरवार र महलको निर्माण ढाँचा आजकल बढी चर्चामा रहेको वास्तुशास्त्र पुरातन गुरुकुलीय शिक्षाकै उपज हुन्। यही पद्धतिमा आधारित भएर नै उहिले थरिथरि का नमुनामा नगर-बस्ती बसालिएका हुन्। तत्कालीन आवतजावतका बाटाघाटा, भूमि -सिञ्चन कुलो-पैनी, पिउने-नुहाउने प्रयोजनका ढुङ्गेधारा आदिका वास्तुशास्त्रीय प्रतिरूप यही गुरुकुलीय शिक्षा अन्तर्गत सफल रहेको र हालमा विज्ञान प्रविधि नाम दिइएको पहिलेकै प्रविधि ज्ञानसँग जोडिएको परम्परित सीप नै विज्ञान र प्रविधि सहयोग शिक्षा हो। यही शिक्षाको कठोर साधनाको अर्को रूप नै आजको उन्नत विज्ञान उपकरण हुन्।

४. गुरुकुल ज्ञान-स्रोत र तिनको महत्त्व:-

बहुविषय विज्ञ आचार्य, अपरिचित अवधूत र अनुभवसिद्ध अतिथि आदि सहितको सामिप्यताको
संगतले पाइने शिक्षा प्रणाली पनि गुरुकुल शिक्षा निरन्तरताकै संजोगले उपलब्ध हुने उत्तम जानकारी वा ज्ञान हो। यदि उर्जाशील यौवनावस्थामै यस्ता महान-जनसँग साक्षात्कार भए तिनका संगतले हरेकका जीवन रहस्य पर्दाका भ्रमहरु च्यातिन्छन्। वास्तविक जीवन जीजीविषा फूल-काँडाका अनुभवहरु संगालिन्छन्। यसले जीवन संघर्षका गोरेटाहरु सुनिश्चित गर्छ। यही नागवेली गोरेटोमा ऊ विस्तार विस्तार अघि बढ्छ। समयक्रमसँगै उसमा निजी जीवन, घरपरिवार, समाजप्रतिको दायित्व तथा कर्तव्यबोध विकास हुन्छ। सोही अनुरुप उसले समयानुकूलका सैद्धान्तिक, व्यावहारिक, प्रायोगिक र मानवोपयोगी युग सुहाउँदो ज्ञान, सीप र कला आर्जन गर्छ। त्यसपछि प्राप्त शैक्षिक योग्यता बमोजिम जीविका सञ्चालनका क्रममा परिस्थितिसँग पैँठेजोरी खेल्दै अघि बढ्छ।

आत्मनिर्भर, जुझारु र कर्मनिष्ठ गुणले युक्त सामाजिक परिचय स्थापित गर्छ। यही आदर्शवान् व्यक्ति विशेषताको प्रभावले सभ्य मानव समाज निर्माण हुन्छ। यस्तै भद्र शिष्ट समाज बनाउनु नै पुरानो आचार्य आश्रमको मूल उद्देश्य हो। भलै हालसाल पठन-पाठनका तौरतरिकामा पृथकता देखिए तापनि विद्या आदान-प्रदान गर्ने त्यतिबेलाका लक्ष्य र अहिलेको ध्येयमा भने अभिन्नता नै
देखिन्छ। त्यसैले आधुनिक शिक्षाको एकपक्षीय अन्ध समर्थनमा पुरातन गुरु घराना शिक्षाका उदार र
अनुकरणीय पक्षलाई अनादर गर्नुहुन्न। यसो गर्नु आफैँमा आत्मघाती कदम हो। यस्ता कदमले व्यक्तिको पहिचानमा ह्रास त आउँछ नै त्यसले अन्य पारस्परिक, पारिवारिक र सामाजिक श्रद्धा तथा सौहार्दताको अन्त्य पनि गराउँछ। यससँगै पुर्खाका जातीय र राष्ट्रिय चिनारीका मूल्य मान्यता तथा साँस्कृतिक विरासतलाई पनि यसले धरापमा पार्छ। त्यसो हुँदा हाम्रा दूरदर्शी पूर्वजद्वारा देखाइएको असल बाटो र तीबाट पुस्तान्तरण गरिएका निम्न गहन सूक्ति सन्देशका आशय भावमाथि यसरी चिन्तन गर्न सकिन्छ:-

“मातृदेवो भव: पितृदेवो भव: आचार्यदेवो भव: अतिथिदेवो भव:”
अर्थात् माता-पिता, अतिथि र आचार्य दृश्य अदृश्य शक्ति प्रदायक देवतासरि पूज्य हुन्छन्। यिनलाई सदैव श्रद्धा, स्मरण, वन्दन र पूजन गर्नुपर्दछ। यसो गर्दा ती पूज्य देवस्वरूप तपस्वीजनबाट आयु, आरोग्य, ऐश्वर्य, विद्या, बुद्धि र विवेक आदि जीवन दुष्प्राप्य शक्ति तथा सद्-गुणहरु मानवले पाउँछ। यिनै ज्ञानको आधारमा उच्च प्रविधि, उत्तम सीप र उत्कृष्ट कौशलले संसार सिँगार्ने क्षमता हरेकले प्राप्त गरेका छन्। यति मात्र नभएर प्रत्येकको निजी, पारिवारिक र सामाजिक जीवन जिउने संयमी सदाचार, शुद्ध आहार, स्वच्छ विहार एवम् लौह अनुशासनका स्वस्थ विचार उल्लिखित तपोनिष्ठजनबाट पाइन्छन् ।

५. जीवन उपयोगी शिक्षा:-

मानव दैनिकी जीवनसंग जोडिएका आचार विचार खान-पान, गमन-आगमन, बोलीवचन, पहिरन,
उपयोगी कर्म अनुशरण, वरपरको पर्यावरण संरक्षण तथा विषयगत कार्यस्थलका संपर्कजनसितको संवाद र संगतमा समेत आवश्यकता अनुसार आत्मसंयम यथाशक्य पुर्‍याउनु पर्ने जस्ता ज्ञानगुन पूर्ण शिक्षा गौरवमय गुरुकुल पक्ष-पोषक अग्रजका विचार दर्शन हुन्। यी आचरण बहुजन हित, सुख शान्ति, सुविधा र समुन्नतको लागि हाम्रा मान्य पुर्खाले शताब्दीऔं पहिले बताएको र सिकाएको मूल्यबोधका कुरा सार्वकालिक छन्। अज्ञात कालदेखि आजपर्यन्त कहिल्यै कसैबाट पनि विरोध नभई निरन्तर समर्थन र अनुपालन हुँदै आएको उहिलेका गरुडपुराणादि र मनुस्मृति आदि ग्रन्थमा उल्लेख कुरासित मेल खाने अहिलेका बहुप्रसारित भद्र नियम-उपनियम र महामारी रोकथामका विधि-निषेध निम्न परिच्छेदबाट प्रष्टिन सकिन्छ।

रातमा अबेलासम्म जागा रहनु र मध्य रातमा दूषित वातावरणको सामूहिक भान्छा-घरमा तयार
गरिएका नशाजन्य पदार्थ समावेश इन्द्रिय उत्तेजित तामसी भोजन स्वाथ्यको लागि अस्वस्थकर हुन्छ। त्यसो हुँदा स्वास्थ्य अनुकूल नशा-विहीन शाकाहारी सात्विकी उत्तम भोजन ग्रहणयोग्य हुन्छ। सायंकालपछि रातको पहिलो प्रहर ९ देखि १० बजेसम्ममा सुत्ने गर्नुपर्छ। अघिल्लो दिनको श्रम र उमेर अनुसार प्रात: ४ देखि ५ बजेभित्र उठेर नित्यकर्म शारीरिक शुद्धिपछि आफू अनुकूलका कर्ममा जुट्नु श्रेयष्कर हुन्छ। यो नियम बाल-वृद्ध-रोगी र अन्य प्रतिकूल अवस्थाका व्यक्तिका हकमा चाहिँ आचारशास्त्रले खुकुलो पारेको छ।

काम विशेष वा अन्य कारणले देश-विदेश आउ-जाउ हुँदा घरमा प्रवेश गर्दा पुर्ख्यौली स्वस्थ मर्यादा
उल्लङ्घन गर्न निषेध छ। आर्य-वैदिक परम्परामा जन्मदेखि मृत्यु पर्यन्तका सोह्र-संस्कार वैज्ञानिक र
परिष्कृत छन्। ती नियमलाई आर्य-वैदिक बाहेककाले पनि परिक्षणकै रुपमा पालन गरेमा सुपरिणामको मिठो लाभ मिल्ने कुरामा विमति नरहन सक्छ। यो स्वविवेकमा भर पर्छ।

६. शिष्टाचार शिक्षा:-

आउनेलाई स्वागत, जानेलाई विदाइ र अवस्था विशेष उमङ्ग घडीमा बधाई साटासाट गर्ने मानवीय
स्वभावको प्रयोग गर्दा बसेको ठाउँबाट उठेर हार्दिकता र शिष्टताको चिनारीसहित हँसिलो मुख पार्नु पर्छ। यसो गर्दा असहज सम्बन्ध पनि सहज र सरल हुन्छ। मैत्रेय भाव बढ्छ र सँगसँगै दुर्भावना पनि हट्छ। यसरी नै मर्यादाक्रम अनुसार नि:स्वार्थभाव साथ मान्यजनप्रति शिर नमन, बराबरीमा अभिवादन वा नमस्कार र प्रिय अनुजजनमा दाहिने उच्च हात नम्र पञ्जा मुद्रामा आशीष प्रदान गर्ने शिष्टाचारका असल तौरतरिका आदि उपर्युक्त सद्गुणहरु गुरुकुलीय नीति शास्त्रमा समावेश गरिएका निर्देशन हुन्।

७. वातावरण, स्वास्थ्य तथा संस्कृति रक्षा:-

पृथ्वी, जल, तेज, वायु र आकाश पञ्चतत्त्व संयोजित हाम्रा वरिपरीका प्रत्यक्ष देखिने र नदेखिने
अनुभवजन्य वस्तुहरु नै वातावरण हुन्। यिनको स्वच्छतामै हाम्रो स्वस्थता र शान्ति लुकेको हुन्छ। त्यसैले हरेक सचेतले आफ्नो निवास छेउछाउको खाली ठाउँमा स्वास्थ्य र हावापानी अनुकूलका वनस्पति लगाएर हरियाली बढाउनु पर्छ। यसरी नै करेसा-बारीमा औषधीजन्य मसला र जडीबुटीका बोट-बिरुवा रोप्नुपर्छ। सँग-सँगै जात-जातका फूलहरु पनि फुलाउनु पर्छ। घरमा नियमित रुपमा वैदिक मन्त्रका मङ्गल- ध्वनि उच्चारित र प्रसारित गर्नुपर्छ। यससँगै परम्परित आस्थाका वाद्यवादन र ध्वनिनाद पनि गर्नुपर्छ। यसले आसपास फैलिएका व्यक्टेरिया-भाइरस अर्थात् हानिकारक जीवाणु र विषाणुबाहेक वायुमण्डलका अस्वस्थ सूक्ष्म पदार्थहरु पनि निर्मूल हुन्छन् भन्ने मन्त्र रहस्यका पुर्ख्यौली आशय आचार्य कुलशिक्षामा उल्लेख गरिएका छन्।

खेतबारीमा बालीनाली बीउ-विजन र व्यापार व्यवसाय सञ्चालन सन्दर्भमा पनि पुर्ख्यौली
मान्यतानुसारका प्राकृतिक र वैदिक शक्तिको आराधना र पूजापाठले मनोवाञ्छित फल पाइन्छ भन्ने
पूर्वीय दर्शनको मत छ। यस्तै नित्य स्नान, चोखो वस्त्र फेरबदल, अग्नि स्पर्श, पवित्र एकान्त स्थान पाकशालामा तयार सात्विक मौन भोजन तथा निकट कुटुम्ब नाता र बन्धुवंश जन्म-मरण, संस्कार, सुतक-आशौचादि विज्ञान खोजी विषय वैदिक उल्लिखित नियम उपनियम हाम्रा भलाइका कुरा हुन्। तिनको अनुशरण र अनुपालनले हाम्रो स्वतन्त्र पहिचान एवम् सर्वमान्य संस्कृति संरक्षित हुन्छन्। मानव सभ्यताको उत्थानमा भूत, भविष्य र वर्तमान तीनै कालमा उल्लेखनीय भूमिका रहेको सबैको कल्याण कारक आदिम गुरुकुलीय शिक्षा युग-युगौँसम्म मानव पुस्ताको भिक्षा हुने कुरामा कुनै शंका छैन। तसर्थ परापूर्वकालीन गुरु आश्रम प्रवाह शिक्षा संकल्प स्वीकार्नु बाहेक यससँग सरोकार राख्ने जनको अर्को विकल्प पनि छैन ।

८. युगीन गुरुकुलीय शिक्षाको सन्देश:- नवीन वस्तु सृजना, सूक्ष्मज्ञान

तिर्सना, सुसंस्कृत समाज सपना, उपकारी जीवन कल्पना र अध्यात्मभाव चेतना आदि समग्र पक्ष-विपक्षमा विवेचित परम्परागत गुरुकुलीय शिक्षाको परिष्कृत रूप आजको आवश्यकता हो। साथै पश्चिमा स्वतन्त्रताको नाममा छाडातन्त्रबाट प्रभावित, स्वदेशीय संस्कार र सभ्यता अपरिचित तथा पुर्ख्यौली गौरवमय गाथाबाट विमुख स्वघोषित युनिक केही युवा-यौवनामा समेत गुरु प्रदत्त शिक्षाप्रति प्रेरक स्वभाव, आत्मीय सद्-भाव र दूरगामी प्रभाव एवम् समुज्ज्वल भविष्य सुनिश्चितताको सन्देशबोध गराउनु पनि जरुरी छ।

यससँगै सर्वसाधारणदेखि उपल्लो-स्तर सम्मका सबैमा यो गुरुज्ञान केन्द्र प्राप्त शिक्षा साइनो रहस्यमन्त्र, विज्ञान प्रविधि उन्नत यन्त्र र विश्व नियन्त्रणतन्त्र अथवा राज्य शासन-प्रशासन व्यवस्था सँग जोड्न पनि अपरिहार्य छ।

बढ्दो भूमण्डलीय शक्ति सञ्चय द्वन्द्व दबाबले अशान्त, जीवन-आधारभूत वस्तु अभावले प्राणान्त तथा
जातीय र क्षेत्रीय नश्लभेद दुर्भावले आक्रान्त विश्व मनोविज्ञानलाई पौरस्त्य दर्शन परिपूरक सत्य, अहिंसा, प्रेम र शान्तिप्रदायक युगीन गुरुकुलीय शिक्षाको स्पन्दन “…वसुधैव कुटुम्बकम्” :- अर्थात् फराकिला छाती उदार मनका लागि संसारका सबै प्राणी, बन्धुबान्धव र कुटुम्बसरि प्रिय हुन्छन्।

यससँगै “विश्वानि देव सवितर्दुरितानि परा सुव यद् भद्रं तन्न आ सुव।” :-अर्थात् हे विश्व-ब्रह्माण्ड प्रकाश देव ! संसारका प्राणीलाई अहित पुर्‍याउने अमंगल हानिकारक वस्तुलाई प्रचण्ड तापले खरानी बनाइदिनुहोस् । प्राणी जीवनमा मंगल प्रदान गर्ने सारा पदार्थलाई चाहिँ यहाँको दिव्य तेजले उपलब्ध गराइदिनुहोस् ।

यस्ता वैदिक मन्त्र गुञ्जन शक्तिले मात्र वर्तमान विश्व-त्रास अन्त्य संभव छ। तसर्थ सर्वप्राचीन पुर्खा धरोहर ज्ञानामृत सरोवर आचार्यकुलको संरक्षण र संवर्द्धन गरौँ। जगत, जीवन र प्रकृतिचक्र शान्त र सुरक्षित राखौँ ।

प्रतिक्रिया दिनुहोस्