Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


धौलागिरीका श्रष्ठालाई काठमाडौंमा भब्य सम्मान


0
Shares

काठमाडौं । ‘धौलागिरी सांस्कृतिक समिति’ काठमाडौं नेपालले धान दिवसको पूर्वसन्ध्यामा धौलागिरी श्रष्ठा सम्मान तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । 

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता  तथा बरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाको विशिष्ठ आथित्यमा राजधानीमा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्टा र सर्जकलाई सम्मान गरेको हो ।

सो अवसरमा भजनशिरोमणी सुरसम्राट भक्तराज आचार्यलाई ‘धौलागिरी राष्ट्रीय सम्मान’ प्रदान गरिएको हो । भजनशिरोमणीको प्रतिनिधिको रुपमा छोरा स्वरुपराज आचार्यले सम्मान ग्रहण गरे ।

‘श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा ‘धौलागिरी साधना सम्मान’बाट गायक जीवन शर्मा, खड्ग गर्बुजा र बिमलराज क्षेत्रीलाई सम्मानित गरिएको थियो ।

त्यस्तैगरी ‘धौलागिरी युवा सम्मान’बाट पछिल्लो समयको बहुचर्चित गीत ‘सालको पातको टपरी हुनि’ बोलको गीतका लागि गायक कुलेन्द्र बिश्वकर्मा, सङ्गीतकार वसन्त थापा र गीतकार नबराज पन्तलाई सम्मानित गरियो । त्यसैगरी थकाली समुदायकी पहिलो गायिका एन्जिला गौचनलाई ‘धौलागिरी विशेष सम्मान’बाट सम्मानित गरियो । 

‘गण्डकी सभ्यता बचाउ महाअभियान’मा समेत सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारसँगै विभिन्न विधाका विशिष्ट ब्याक्तित्वहरुको सहभागीता थियो । समारोहमा सम्मानित तथा ख्यातीप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुती राखे ।

कार्यक्रममा करिब ६ सय जना धौलागिरीबासी र संगीत पारखीहरुलाई दहि चिउरा खुवाइएको थियो । कार्यक्रममा प्रमुख अतिथी मदनकृष्णले धौलागिरी हिमालको रहेसम्म र कालिगण्डकी बगेसम्म नेपालको कला संस्कृति जिवित रहने धारणा राखे ।

कार्यक्रममा समितिका अध्यक्ष कृष्णसमिप सुवेदीले अब हरेक बर्ष हिउँदमा धौलागिरी सांझ र बर्षायाममा धौलागिरी अवार्ड गर्ने घोषणा गरे ।

कार्यक्रममा पूर्वमन्त्री, जनप्रतिनिधी, सरकारी निकायका विशिष्ट ब्यक्तित्वहरु, विभिन्न व्यवसायीलगायत उपस्थित सबैलाई अध्यक्ष सुवेदीले विशेष आभार ब्यक्त गरे ।

कार्यक्रममा प्रमुख तथा विशिष्ठ अतिथिलाई धौलागिरीको मौलिक उत्पादन निगालोको चोयाबाट बनाइएको डाली उपहार प्रदान गरिएको थियो ।