
चितवन, जेठ ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिने बताएका छन् ।
चितवनको भरतपुरमा पार्टी कार्यकर्तालाई आज (बुधबार) विहान प्रशिक्षण दिँदै अध्यक्ष दाहालले महान् उद्देश्यका साथ पार्टी एकीकरण गरिएको भन्दै एकताको महासागरमा पौडिएर विगतका गल्तीको पाप पखाल्ने सुनौलो अवसर भएको बताए ।
उनले, “महासागरमा नुहाएर आएपछि पाप पखालिन्छ भने जस्तै विगतमा पाप गरिएको छ भने पनि मोक्ष प्राप्त गर्ने यो महत्वपूर्ण अवसर हो, एकताको महासागरले हिजोका सबै पाप पखालिने छ ।” पार्टी एकीकरण हिजोको मैलो धैलो पखाल्ने अवसर समेत भएको उनले बताए ।
अध्यक्ष दाहालले पार्टी एकीकरणलाई अवसरको रुपमा लिदै गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘हिजो दुवै पृष्ठभुमिको पार्टीमा समस्या थियो, त्यतिबेलाका नराम्रो कुरासंगै गुट पनि लिएर आएका छौं, अन्तरघात गर्ने काम पनि गर्न छाडेका छैनौं, व्यक्तिगत स्वार्थका लागि मरि मेट्ने चिन्तन पनि हामीसंग छ, यसले न पार्टीको भलो गर्छ न देश र जनताको ।’
विश्वमा रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन नेपालमा आक्रमक भएको भन्दै शासन सत्ता हातमा लिएर विश्वको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा तर्फ लैजाने उनको उद्घोष थियो । दुई ठूला देशको बीचमा रहेको नेपाल संभावनाले पनि केन्द्रविन्दु रहेको प्रचण्डको भनाई छ ।
यस्तै आज विहान एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताए ।
भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उनले भने,–“अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।”
स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए ।
उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्