
काठमाडौं, असार १३ । काठमाडौंको भद्रकाली मन्दिर परिसरमा कथित ‘धर्तीमाता’को नाममा एक युवतीमाथि दुर्व्यवहार (कुटपिट) गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
गुल्मी घर भइ रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु कुँवरलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएकोे छ ।
यही असार ५ गते मन्दिरमा उनले घटना गराएको प्रहरीले जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो घटनाबारे जानकारी दिँदै परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले उपचारको नाममा युवतीमाथि दुर्व्यवहार गर्ने कुँवरलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।
उनकाअनुसार सो घटनामा दुर्व्यवहार भएकी युवती भने सम्पर्कमा नआएकीले खोजी भइरहेको छ ।
विभिन्न सामाजिक सन्जालमा सार्वजनिक भएको श्रव्यदृष्यमा मानिसको ठूलो भीडमा ती महिलाले एक युवतीलाई कुटपिट गरिरहेको देखाइएको थियो ।
घटना हुँदा सो स्थानमा नेपाल प्रहरीका कर्मचारीसमेत देखिएकोबारे पत्रकारले सोधेको जिज्ञासामा परिसरका प्रमुख सुवेदीले भीड नियन्त्रण गर्न र मानिसको सुरक्षाका लागि आएकाले कुनै पूर्वघोषित कार्यक्रममा नखटिएको उल्लेख गरे । रासस
प्रतिक्रिया दिनुहोस्