यी घिमिरे, ती घिसिङः अब कहिल्यै नआउन् यस्ता आयुक्त ! « Image Khabar


यी घिमिरे, ती घिसिङः अब कहिल्यै नआउन् यस्ता आयुक्त !


Imagekhabar
३० भाद्र २०७७, मंगलवार १९:५७

article electricity authority corruption

राजन कुईंकेल ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमुख आयुक्त नवीन घिमिरेले अवकाश लिने र नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यकाल पूरा गर्ने एकै समय रह्यो । अख्तियार, जसको काँधमा देशभरका सरकारी अड्डा अदालतमा भए गरेका अनियमितता र अख्तियारीको दुरुपयोग छानबिन गरी मुद्दा चलाउने जिम्मेवारी छ । त्यस संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरी अवकाश पाउने व्यक्ति टंगालको रातो घरबाट निस्कँदै गर्दा आम जनता उनका निर्णयमाथि औला ठड्याइरहेका छन् । जबकी बिजुली अड्डाको त्यस्तै रंगको घरबाट कुलमान घिसिङ बाहिरिँदै गर्दा उनको जयजयगान ।

विद्युत प्राधिकरण जसको मूल जिम्मेवारी देश र जनतालाई उज्यालो उपलब्ध गराउनु हो । चार वर्षअघि त्यस संस्थाको नेतृत्व सम्हाल्न जाँदा मुलुक १८ घण्टाको लोडसेडिङ खप्न अभिसप्त थियो । प्राधिकरण अर्बौअर्ब नोक्सानीमा मात्र थिएन आफ्नै कर्मचारीले धारेहात लगाउँथे । नेतृत्वकर्तादेखि कर्मचारीसम्म, घरेलु प्रयोगकर्तादेखि अर्बौका उद्योगपतिसम्म विद्युत् चोरेर प्रयोग गर्थे । अर्बौअर्बको सम्पत्ति भएको प्राधिकरण यसरी डुबेको थियो कि उसलाई विदेशीको छाडौं, देशभित्रैका साहुमहाजन (बैंक/वित्तीय संस्था) सम्मले पत्याउने अवस्था थिएन ।

वाइड बडी, न्यारो बडी विमान सर्लक्कै निल्नेहरु, कोरोनाको स्वास्थ्य सामग्री पचाउनेहरु, सडक, पुल, भवनमा नांगो नाच देखाउनेहरु, मल खाएर मल निकाल्नेहरु, विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन ओसार्नेहरु, बालुवाटारको प्रधानमन्त्रीको शयन कक्ष नै बेच्नेहरु, आयल निगममा तेल पिएर पिसाब गर्नेहरु, सिंचाई परियोजनाबाट भुँडी सिञ्चित गर्नेहरु, सेक्युरिटी प्रेस खरिद प्रकरणमा खुलेआम अर्बौ पचाउन बार्गेनिङ गर्नेहरु, पासपोर्ट छपाईबाट पैसा छाप्नेहरु, कर छूट (फछ्र्यौट) प्रकरणबाट थैली भर्नेहरु, भ्याट छली गरेर भुँडी भर्नेहरु, नेपाल ट्रष्टको जग्गा हत्याउनेहरु, विद्युत परियोजना पचाउन पल्किएकाहरु, राज्य कोष लूटन स्थापित अनेकन नाममा समूहहरु, सुडान काण्डमा सोस्नेहरु, लडाकू भत्तामा ब्रह्मलूट मच्चाउनेहरु, एनसेललाई मोह देखाएर आमाको बलात्कार गर्नेहरु, फोरजीमा फोहोर गरेर मोहोर सोहोर्नेहरु, विदेशीका एजेन्ट बनेर देशी नेता–प्रशासकको मोल तोक्नेहरुलगायत एकपछि अर्को गर्दै खोरमा जाकिने धेरैको अपेक्षा थियो ।

त्यस्तो बेला चुनौतिपूर्ण जिम्मेवारी सम्हालेका कुलमानले चार वर्षमा कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गर्दै अन्धकार नेपाललाई २४ सै घण्टा बिजुली बाल्ने हैसियतमा पुर्‍याए । कार्यकाल सकाएर बिजुली अड्डाबाट निस्कँदै गर्दा प्राधिकरणमा कुलमान नै चाहिन्छ भनेर देश उनका पक्षमा फर्लक्कै उर्लिएको छ । यसअघि त्यही पदमा को थियो भन्नेसम्म थाहा हुँदैनथ्यो । सीमित नेताको चरण सेवा गर्ने, खल्ती भर्ने र माफिया/दलालसँग साँठगाँठ गरेर सन्तान दरसन्तानसम्मलाई धन जम्मा पार्नेबाहेक त्यो पदमा पुग्नेले केही गरेर निस्केन ।

तर आज एउटा व्यक्तिको आँट, अठोट, परिश्रम र व्यवस्थापनले रुग्ण भएको संस्था कसरी कायापलट गर्न सम्भव हुँदो रहेछ भन्ने गतिलो दृष्टान्त बनेको छ, विद्युत प्राधिकरण । हो, पक्कै पनि यो उनको रातारातको फूमन्तरले मात्रै सम्भव भएको होइन । वर्षौदेखि बन्दै गरेका आयोजना, भारतसँग आयात गरिएको विद्युत र संस्थाभित्रको चुहावट रोक्न उनलाई साथ दिने प्रशासकीय र राजनीतिक नेतृत्व पनि हकदार होला । तर कुलमानबाहेक अरु भएका भए यो यति छिट्टै सम्भव हुन्थ्यो ? हुन्थ्यो भने यसअघि किन भएन ? अरु यस्तै संस्थाहरु किन उकालो लाग्न सकेका छैन ? किन रुग्ण बनेर सरकारी ढुकुटी दोहन गर्ने थलो मात्रै बनेको छ ? नेतृत्वकर्ताको दूरदृष्टि र इमान यसमा महत्वपूर्ण हुने कुरामा कुनै दुईमत छैन ।

कुलमानका पनि अनेकन कमजोरी होलान् । उनले भनेझै काम गर्न सकेनन् होला । अझै बढी गर्नुपर्दथ्यो होला । तर औसतमा हेर्ने हो भने उनले आम अपेक्षामाथि तूषारापात हुन दिएनन् । आफू पदमा रहुञ्जेल मुलुकलाई अँध्यारोको गर्तमा मिल्काएर केही माफिया, दलाल र बिचौलियासँग साँठगाँठ गरेर थैली भर्ने बाटो समातेनन् । गरेका रहेछन् भने उनैले ब्यहोर्लान् । आगामी दिनमा उनीमाथि पनि निष्पक्ष छानबिन गर्न सरोकारवाला निकायलाई छेकिएको छैन ।

अर्कातिर अख्तियारको कुरो गरौं । धेरैलाई लागेको थियो, परिवर्तित अवस्थामा मुलुकमा बेलगाम आकाशिएको भ्रष्टाचार र अनियमिता रोक्ने दिशामा घिमिरेको नेतृत्वमा अख्तियारले यस्तै वाह भन्ने अवस्था सृजना गर्ला ? लाख, करोडको सीमा नाघेर राज्यको ढुकुटीमा भइरहेको अर्बौअर्बौको खुलेआम लूट मच्चाउने र न्याय व्यवस्थामाथि हाँक दिनेहरुलाई मुन्ट्याएर कानुनको कठघरामा ल्याउला ।

वाइड बडी, न्यारो बडी विमान सर्लक्कै निल्नेहरु, कोरोनाको स्वास्थ्य सामग्री पचाउनेहरु, सडक, पुल, भवनमा नांगो नाच देखाउनेहरु, मल खाएर मल निकाल्नेहरु, विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन ओसार्नेहरु, बालुवाटारको प्रधानमन्त्रीको शयन कक्ष नै बेच्नेहरु, आयल निगममा तेल पिएर पिसाब गर्नेहरु, सिंचाई परियोजनाबाट भुँडी सिञ्चित गर्नेहरु, सेक्युरिटी प्रेस खरिद प्रकरणमा खुलेआम अर्बौ पचाउन बार्गेनिङ गर्नेहरु, पासपोर्ट छपाईबाट पैसा छाप्नेहरु, कर छूट (फछ्र्यौट) प्रकरणबाट थैली भर्नेहरु, भ्याट छली गरेर भुँडी भर्नेहरु, नेपाल ट्रष्टको जग्गा हत्याउनेहरु, विद्युत परियोजना पचाउन पल्किएकाहरु, राज्य कोष लूटन स्थापित अनेकन नाममा समूहहरु, सुडान काण्डमा सोस्नेहरु, लडाकू भत्तामा ब्रह्मलूट मच्चाउनेहरु, एनसेललाई मोह देखाएर आमाको बलात्कार गर्नेहरु, फोरजीमा फोहोर गरेर मोहोर सोहोर्नेहरु, विदेशीका एजेन्ट बनेर देशी नेता–प्रशासकको मोल तोक्नेहरुलगायत एकपछि अर्को गर्दै खोरमा जाकिने धेरैको अपेक्षा थियो ।

साना मात्र होइन, हामी ठूला माछा पक्रेर देखाउने छौं भन्ने हुँकारले बबुरो नागरिक आशाको नजर फ्याँदैथ्यो । दूर्भाग्य, तिनै प्रमुखआयुक्त घिमिरेले यिनै देश लूट्ने ठूला अपराधीहरुलाई एकेक गर्दै छुटकारा दिँदै गए । यात कार्वाही प्रक्रिया थालेनन् या दलका नेताको ईशारामा अपराधीहरुलाई चोख्याउन मुद्दा मुल्तवीमा राख्ने ‘महान् सेवा’ सम्पन्न गरे । निष्पक्ष र निर्भिक रुपमा आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आयोगले सत्तापक्षको दबाव र प्रभावमा ठूला भ्रष्टाचारका मुद्दा नचलाउने गरी तामेलीमा राखिदियो । टंगालको रातो दरबारबाट निस्कँदै गर्दा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिन उनले गरेका निर्णयहरु जनताको नजरमा वर्षौसम्म पनि नमेटिने कालो टीकाका रुपमा अमीट रहनेछ ।

पार्टीको सेवा गरेर कर्मचारी प्रशासनमा पद हत्याउँदै अकूत सम्पत्ति जोरेका प्रशासकहरुलाई संवैधानिक निकायको जिम्मा लगाउने र आफ्ना कर्तूतहरु छोप्ने राजनीतिक दल र कर्मचारीबीचको मिलेमतो नै आजको नेपालको भ्रष्टचित्र हो । प्रशासनिक तहमा हुने भ्रष्टाचार, राजनीतिक नेतृत्व तहको संलग्नता एवं नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा घिमिरे नेतृत्वको आयोगले कामै गरेन । हो, उनले हजार खानेलाई नछाड्ने जुन उद्घोष गरेका थिए, त्योचाहिँ पूरा गरे । हजार लिएर छाक टार्ने कर्मचारीहरुलाई कोठरीमा खाँद्ने र मुद्दाको संख्या बढाउने चलाखी भने उनले राम्रै गरे । हजार थाप्ने सेरिएर मर्ने र देशको ढुकुटी नै कब्जा गर्नेहरु खुलेआम छाती फर्काएर हिंड्ने आँट उनैले भरिदिए ।

कांग्रेस, कम्युनिष्ट वा अरु कुनै दलको दौराको फेर समाएर कर्मचारी प्रशासनमा वृत्तिविकास गरेका, नेता र तिनका श्रीमतीको चाकडी गरेकै भरमा पद हत्याएका यस्ता पात्रहरु मुलुकको दोहन गर्नेहरुमाथि डण्डा चलाउने निकायमा नियुक्त गरिएको अब देख्न नपरोस्, यत्ति छ कामना !

प्रतिक्रिया दिनुहोस्