
काठमाडौं, असार १३ । काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा शृंखलाबद्धरुपमा महिलामाथि भएका आक्रमणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले महिलामाथि भएका शृंखलाबद्ध आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
कार्कीलाई बिहीबार राति १० बजे महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रामेछाप घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्कीलाई प्रहरीले विभिन्न युवतीहरुलाई जथाभावी तीखो वस्तुले घोच्दै हिँडेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।
उनले ‘सिरिन्ज’ले आक्रमण नगरी किलाले आक्रमण गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।
कुनै रोग सार्न नभइ आफ्नो रमाइलोका लागि सिरिन्जले नभइ सुरुमा काठको सुइरो र पछि ढलान किलाले घोच्ने गरेको बयान दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले बताए ।
प्रहरीले उनको बयानमा पूरा विश्वास नगरीसकेकाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं र भक्तपुरमा केही दिनअघि शृंखलाबद्धरुपमा युवतीहरुमाथि तीखो वस्तुले घोचेर आक्रमण भएको थियो ।
त्यसलाई कतिपयले सिरिन्ज आक्रमण भएको बताएपनि पक्राउ परेका अभियुक्तले भने काठ र ढलानको किलाले घोच्ने गरेको बताएका छन् ।
‘धर्तीमाता’ पक्राउ
यसैबीच, काठमाडौंको भद्रकाली मन्दिर पसिरमा आफूलाई ‘धर्तीमाता’ भन्दै एक युवतीलाई कुटपिट गर्ने विष्णु कुँवरलाईसमेत प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले कुँवरलाई शुक्रबार बालाजु, बाइपासबाट पक्राउ गरेको हो ।
उनले एक युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा पोस्ट भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्