
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, असार १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले बिहीबार घुस रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महेन्द्रनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अजितकुमार श्रीवास्तव र इन्जिनियर गृष्मा ठगुन्ना छन् ।
सेवाग्राहीबाट घुसवापत लिएको दुई लाख रुपैयाँ कार्यालय प्रमुख श्रीवास्तवको निवासस्थित भान्छामा चामलको बोराभित्र लुकाएको अवस्थामा बरामद गरिएको अख्तियारले जनाएको छ ।
अनुसन्धानकाक्रममा गृष्मा ठगुन्नासमेत दोषी देखिएपछि उनलाई पनि अख्तियारले नियन्त्रणमा लिएको हो ।
भीमदत्त नगरपालिका–१९ स्थित चौधर नदीमा तटबन्ध निर्माणकाक्रममा १५ प्रतिशत रकम घुस मागेको सेवाग्राहीले बताएका छन् । चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीसित उनले घुस लिएको बताइएको छ ।
श्रीवास्तवले २५ लाख योजनाको १५ प्रतिशतका दरले ‘कमिसन’ नदिए आफूले बिल पास नगर्ने बताएपछि घुस दिएको सेवाग्राहीले बताएका छन् ।
पक्राउ परेका कार्यालय प्रमुख श्रीवास्तव र इन्जिनियर ठगुन्नामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्