बाढीग्रस्त ढोरपाटनको आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार • Image Khabar Image Khabar


बाढीग्रस्त ढोरपाटनको आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार


Imagekhabar
२७ भाद्र २०७७, शनिबार ११:२३

बाढीग्रस्त ढोरपाटनको आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार

बाग्लुङ । बागलुङको बाढीग्रस्त क्षेत्र ढोरपाटनको आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार भएको छ ।

भदौ १७ गते राती पहिरोसँगै आएको भूजिखोलाको बाढीले आधा दर्जनभन्दा बढी गाउँका ८० घर बगाएको छ भने ७० घरमा क्षति पुगेको छ ।

बाढीमा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ भने १७ जना अझै बेपत्ता रहेका छन् ।

हालसम्म व्यवस्थित धारासमेत निर्माण भइनसकेको बस्तीमा वितरण भएको खानेपानीको पाइप, धारा र खानेपानीको मूलसमेत बाढीले क्षतिग्रस्त बनाएपछि खानेपानीको हाहाकार भएको हो ।

आफन्तकोमा आश्रय लिएका ढोरपाटन नगरपालिका–९ बाढीपीडितहरुले खानेपानी नपाएको गुनासो गरेका छन् ।

ढोरपाटन नगरपालिका–९ को द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँ बाढीले बगाएका कारण खानेपानीको समस्या भएको छ ।

तत्कालै खानेपानीको व्यवस्थापन गर्न समस्या भएको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष हरीबहादुर घर्तीले जानकारी दिनुभयो ।

बाढीले २० किलोमिटर क्षेत्रमा क्षति पुर्‍याएका कारण तथ्यांक संकलनमै समस्या भएको र राहत तथा उद्धारमै खटेका कारण खानेपानीतर्फ ध्यान पुर्‍याउन समस्या भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्