
काठमाडौं । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको हो ।
भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भदौ १६ गते कोरोना अस्पतालमा भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा श्वासप्रश्वासमा समस्या आएर गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले बताउनुभयो ।
उनलाई २४ गतेदेखि स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा.गौतमले बताउनुभयो । उनी मधुमेहका बिरामी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ ।
यता भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण हुनेमा रत्ननगर नगरपालिका–२ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा उपचाका लागि आइपुग्दा बिहीबार राति उनको मृत्यु भएको थियो ।
मृत्यु पछि गरिएको नमूना परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो । अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हिजो बिहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको छ ।
उपचारका लागि अस्पताल आइपुग्दा उनको मृत्यु भएको थियो । बिहीबार दिउँसो सघन उपचार कक्षमा खैैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको पौडेलले बताउनुभयो ।
उनको पनि नतिजा नेगेटिभ आएको छ । उनीहरु तीनै जनालाई ज्वरो, खोकीसहित श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्