काठमाडौं, असार ११ । नेपाली कांग्रेसले पार्टीको पहिलो चरणको एकमहिने जागरण अभियानमा देशभर खटिएका केन्द्रीय प्रतिनिधिसँग बुधबारदेखि छलफल सुरु गरेको छ ।
पार्टी कार्यालय सानेपामा सुरु छलफलमा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल भइरहेको छ ।
दुई दिनसम्म चल्ने छलफलमा ७७ ओटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले आफ्ना धारणा राख्नुका साथै तयार पारिएको प्रतिवेदन प्रस्तुत् गर्नेछन् ।
छलफलको उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले पार्टीले सन्चालन गर्ने दोस्रो र तेस्रो चरणको कार्यक्रमलाई यो छलफलले थप परिष्कृत, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
छलफलमा सहभागी हुने जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिलाई आफ्नो धारणा र प्रतिवेदन पेस गर्न जनही १० मिनेटको समय छुट्याइएको छ ।
कांग्रेसले गएको वैशाख २५ देखि जेठ २५ गतेसम्म एकमहिने राष्ट्रिय जागरण अभियान चलाएको थियो ।
आउँदो भदौ २४ देखि असोज ७ गतेसम्म दोस्रो चरणको जागरण कार्यक्रम गरिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्