
काठमाडौं, भदौ २४ । सम्झौता गरी समयमा मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग राख्दै सामाजिक अभियन्ताहरुले बुधबार कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
ठेकेदारहरुकै कारण किसानहरुले मल नपाएर सास्ती खेप्नुपरेको भन्दै सामाजिक अभियन्ताहरु जगत भुसाल र द्वारिका ढुंगेलले कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाएका हुन ।
ठेक्का लिएर तोकिएको समयसम्म मल नल्याएका कम्पनीलाई कालोसूचीमा राखेरमात्रै नहुने भन्दै उनीहरुले क्षतिपूर्ति पनि भराउनुपर्ने माग गरेका हुन् ।
मन्त्रीलाई भेटेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अभियन्ता ढुंगेलले मल नल्याउने व्यक्तिहरुलाई कालोसूचीमा राखेरमात्रै नहुने भएकाले त्यसबाट जनता र राष्ट्रलाई परेको क्षति पनि भराउनुपर्ने माग राखिएको बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले मल नल्याउने ठेकेदार कम्पनीहरुलाई थप कारबाहीको प्रक्रिया अगाडि बढेको जानकारी गराउनुभएको उहाँले बताउनुभयो ।
सरकारले यही भदौ २० गतेसम्म मल ल्याउने गरी गत पुसमा ठेक्का गरेको भएपनि समयमै मल नआउँदा किसानहरु मारमा परेका छन् ।
सम्झौता गरेका शैलुङ कन्स्ट्रक्सन कम्पनी र होविको मल्टिपल कम्पनीलाई सरकारले समयमै मल नल्याएपछि कारबाहीको तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्