Logo ४ माघ २०८२, आइतबार | Mon Jan 19 2026


तोकिएकै समयमा महाधिवेशनको सम्भावना न्यून : देउवा


0
Shares

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसले कोरोना संक्रमणलाई देखाएर १४औं महाधिवेशन सार्ने तयारी गरेको छ ।

बीपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको भिडियो संवादमा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेशन गर्ने आफ्नो चाहना भएपनि कोरोनाको कारण सम्भावना न्यून भएको बताउनुभयो ।

उहाँले सबैको सहमतिमा महाधिवेशनको मिति सार्ने भन्दै कसैले कांग्रेस छोड्नु नपरोस् भनेर आफूले काम गरिरहेको दाबी गर्नुभयो ।

राष्ट्रियता र प्रजातन्त्रका लागि बीपीले कसैसँग सम्झौता नगरेको भन्दै पार्टी उहाँकै सिद्धान्तमा हिँडिरहेको दाबी गर्नुभयो ।

सभापति देउवाले प्रजातन्त्रमाथि कम्युनिस्टबाट खतरा रहेको भन्दै सरकारका विरुद्ध आन्दोलन गर्ने पक्षमा रहेपनि कोरोनाले रोकेको उल्लेख गर्नुभयो ।

संवाद कार्यक्रममा महामन्त्री डा. शंशाक कोइरालाले बीपीले भनेको समाजवादमा परिवर्तन आएपनि बीपी विचार अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको जिकिर गर्नुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बीपीको बाटो नछोडेपनि पार्टीबाट कमी-कमजोरी भइरहेको बताउनुभयो ।

उहाँले महाधिवेशनको सम्मुखमा पार्टी समायोजन र क्रियाशील सदस्यता वितरणको काम किन रोकेको ? भन्दै प्रश्न गर्नुभयो ।

नेता कृष्णप्रसाद सिटौलाले कार्यतालिकाअनुसार काम हुन नसक्दा फागुनमा १४औं महाधिवेशन हुन नसक्ने दाबी गर्नुभयो ।

उहाँले नयाँ मिति तय गर्ने विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठकको माग गर्नुभयो ।

कार्यक्रमका अवसरमा कांग्रेसले परिमार्जनसहितको आफ्नो वेबसाइट सार्वजनिक गरेको छ ।

बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा बुधबारबाट सुरु भएको ‘जुम’ अन्तरक्रिया शुक्रबारसम्म जारी रहने जनाइएको छ ।