
काठमाडौं, भदौ २४ । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यो सहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४९ हजार २१९ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४६४ जना संक्रमित भएका छन् ।
काठमाडौंमा ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनासहित उपत्यकामा ४६४ जना कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
बुधबार थप ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
नेपालमा कोरोना भाइरसबाट बुधबार थप ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ पुरुष र ३ जना महिला छन् ।
मन्त्रालयका अनुसार काठमाडौंकी ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३१२ जना रहेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्