आज अन्तर्राष्ट्रिय साक्षरता दिवस • Image Khabar Image Khabar


आज अन्तर्राष्ट्रिय साक्षरता दिवस


Imagekhabar
२३ भाद्र २०७७, मंगलवार ०८:४३

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौं, भदौ २३ । मंगलबार सेप्टेम्बर ८ अन्तर्राष्ट्रिय साक्षरता दिवस ।

नेपालमा पनि अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो ।

‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका २०७७’ मा पुरस्कारका लागि शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रारम्भिक छानविन समिति र शिक्षासचिवको संयोजकत्वमा सिफारिस समिति गठनको व्यवस्था गरिएको छ ।

यस्तै उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन हुनेछ ।

विसं. २०६२ सम्म हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाएकामा लोकतान्त्रिक जनआन्दोलनका कारण विसं. २०६३ मा राष्ट्रिय शिक्षा वस स्थगन भएपछि २०६४ सालदेखि अन्तर्राष्ट्रिय दिवसका दिनसँगै मनाउन थालिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय दिवस बेग्लै मितिमा आयोजना गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएको र नयाँ मितिबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।

‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालीकाले बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्य (नारा) का साथ विसं. २०३१ सालबाट मनाउन थालिएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज ‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड १९ ः क्राइसिस एण्ड बिओण्ड’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ ।

युनेस्कोले २० हजार अमेरिकी डलरको यसवर्षको अन्तर्राष्ट्रिय पुरस्कार नेपालको सामाजिक संस्था ‘एजिङ नेपाल’ लाई प्रदान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्