Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


बूढीगन्डकी निर्माणको जिम्मा कसैलाई दिएको छैन : ऊर्जामन्त्री


0
Shares

काठमाडौं, असार ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हालसम्म बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा कसैलाई नदिएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिपक्ष दलका सांसदले ‘चिनियाँ कम्पनी गेजुवालाई आयोजना किन दिएको ?’ भनेर प्रश्न गरेपछि मन्त्री पुनले कसैलाई नदिएको बताएका हुन् ।

उक्त कम्पनीसँग विभिन्न चरणमा छलफल भएपनि निर्माण गर्नेगरी कुनै सम्झौता नभएको उनले दाबी गरे ।

मन्त्री पुनले बूढीगन्डकी आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले केही महँगो भएपनि सरकारले नै बनाउने बताए ।

सरकारले बूढीगन्डकी आयोजना निर्माणका लागि भन्दै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ कर उठाएर ३० अर्ब रुपैयाँ संकलन गरिसकेको छ भने २५ अर्ब मुआब्जा वितरणमा खर्च भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत् : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मतरुपमा सन्चालन भएको दाबी गरे ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहअन्तर्गत् कार्यान्वयन गर्नेगरी कार्यक्रम पठाइएको र यसको कार्यविधि, निर्देशिका, क्षेत्र कार्यान्वयनको विधि, अनुगमन र भुक्तानीको विधि तय गरिएको बताए ।

मन्त्री विष्टले सरकारले बेरोजगार व्यक्तिलाई दलीय कार्यकर्ताको दृष्टिकोणमा व्यवहार नगरेको र आफ्नो दायित्व र कर्तव्यलाई इमान्दारीतापूर्वक पूरा गर्नेतर्फ गम्भीर रहेको दाबी गरे ।