काठमाडौं, असार ९ । कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसदमा आपत्ति जनाइएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसंगतिको थलोकारुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता प्रकट गरे ।
त्रिभुवन विश्वविद्यालयकाबारेमा आजै छापामा आएको समाचारतर्फ सदनको ध्यानाकषर्ण गराउँदै उनले ‘९ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?’ भने ।
‘भूमाफिया र बिचौलियाले सबैलाई नियन्त्रणमा लिनसक्छन् । त्रिभुवन विश्वविद्यालयको घटना यस्तै प्रकृतिको हो । यसलाई तोड्नुपर्छ नत्र विकास र समृद्धि कागजमै सीमित हुन्छ । यो गम्भीर विषयमा म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पनि ध्यानाकर्षण गराउँछु’–सांसद सापकोटाले भने ।
सांसद मीनबहादुर विश्वकर्माले प्रकाश सपूतले गाएको ‘गलबन्दी’ बोलको गीत अर्कै कलाकारले गाएको भनी जातीय भेदभावका दृष्टिले अपमान गर्न खोजेकाले भेदभाव गर्न खोज्नेलाई साइबार कानुनबमोजिम कानुनी कारबाही हुनुपर्ने माग गरे ।
कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको घटनामा उनी थारु भएकैले अस्पतालमा पनि नेल लगाएर उपचार गरिएको सांसद विश्वकर्माको आरोप थियो ।
सांसद एकवाल मियाँले जनयुद्धका आन्दोलनकारी संसदमा बस्ने तर थरुहटका आन्दोलनकारी जेलमा राखिनु कतिसम्म न्यायसंगत छ ? भनी प्रश्न गरे ।
सांसद राजेन्द्र श्रेष्ठले गुठी विधेयकविरुद्धको आन्दोलन वि.सं. २०६२/६३ पछिको ठूलो आन्दोलनकारुपमा अघि बढेकाले त्यसमा भएका सबै असान्दर्भिक दफा खारेज गर्न माग गरे । विधेयक प्रदेशसभाको अधिकारलाई वञ्चित गर्नेगरी आएको उनको आरोप थियो ।
गुठी जग्गासँगमात्र सम्बन्धित नभएको तर सुकुम्वासीलाई आवास दिने विषयलाई यहाँ जोड्न नहुने सांसद श्रेष्ठको भनाइ थियो ।
सांसद खगराज अधिकारीले गन्डकी प्रदेशको सदरमुकाम जोड्ने द्वारकारुपमा रहेको पुल जीर्ण भइसकेको र सो पुल भत्केमा सदमुकाममा नाकाबन्दी हुनसक्ने भएकाले यथाशीघ्र बनाउन माग गरे ।
सांसद जिपछिरिङ लामाले लोकसेवा आयोगले समावेशी सिद्धान्तअनुसार विज्ञापन नगरेकाले खारेज गर्न माग गरे ।
विज्ञापन खारेज नभए फेरि देशमा आन्दोलन सुरु हुने भएकाले बेलैमा सचेत हुन उनले सरकारको ध्यानाकर्षण गराए ।
सांसद महेश्वरजंग गहतराजले तराई क्षेत्रमा वर्षाका कारणमात्र नभइ भारतका विभिन्न क्षेत्रमा निर्माण भएका बाँध र अग्लो सडकले नेपाली भूमि डुबानमा पर्न थालेकाले समस्या समाधानतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।
सांसद गगनकुमार थापाले वन–जंगल फाँडेर होटल, रिसोर्ट र सफारी बनाउने सोच गलत भएकाले ऐनमा नभएको विषय मन्त्रीले कार्यविधिमा थपेर केही साहुलाईमात्र पोस्न खोजेको आरोप लगाए । ऐनलाई छलेर चोर बाटोबाट कार्यविधि ल्याइएको उनको भनाइ थियो ।
यसअघि संसदीय समितिले गरेको निर्णयविपरीत कार्यविधि आएकाले यस विषयमा अध्ययन गर्न समिति र मन्त्रालयलाई सांसद थापाले आग्रह गरे ।
सांसद पोल्देनछोपाङ गुरुङले मनाङ जाने पुल बाढीले बगाएकाले बेलिब्रिज छिटो हाल्ने व्यवस्था मिलाउन माग गरे ।
मनाङ सदरमुकामको घट्टेखोलाको पुलमासमेत बाढीले असर गरेकाले जीर्णोद्वार गर्न उनले ध्यानाकर्षण गराए ।
सांसद रामबहादुर बुढाले कर्णाली प्रदेशका जनताको आय–आर्जन बढाउन सिँचाइको व्यवस्थाका लागि बाँध बाँध्ने र विद्युत् निकाल्ने योजनामा स्थानीयवासीलाई सेयर दिनुपर्ने माग गरे । रासस









प्रतिक्रिया दिनुहोस्