
-जयराम वास्तोला र प्रज्ञा तिमल्सिना(ईमेज)
काठमाडौं । सरकारले तीन वर्षअघि अर्थात् २०७३ साल साउनमा वीर अस्पताललाई अत्याधुनिक सेवा सुविधासहित विस्तार गर्ने निर्णय गर्यो ।
सोहीअनुसार सरकारले भक्तपुरको दुवाकोटमा ५ सय रोपनी जग्गा अस्पतालको नाममा पास गर्यो ।
तर निर्णय भएको तीन वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन ।
सरकार आफैंले निर्माण गर्ने कि वैदेशिक सहायता लिने भन्ने निर्णय गर्न नसक्दा प्राथमिकतामा परेर पनि वीर अस्पतालको सेवा विस्तारको काम अघि बढ्न नसकेको हो ।
भक्तपुरको दुवाकोटमा वीर अस्पतालको अत्याधुनिक भवनसहितको सेवा विस्तार गर्न सरकारले तीन वर्षदेखि रकमसमेत विनियोजन गर्दै आएको छ ।
६ वर्षभित्र निर्माण गरी सक्ने गुरुयोजना सरकारले तयार पारेको थियो । तर योजना बनाएको ३ वर्षसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बन्न सकेको छैन ।
डीपीआर बनाउन सरकारले चालू आर्थिक वर्षका लागि १५ करोड विनियोजन गरेको थियो । तर, त्यसको कुनै काम नभएपछि रकम फ्रिज हुँदै छ ।
अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अस्पताल निर्माणमा चीन सरकारले चासो देखाए पनि सरकार आफैंले बनाउने कि भन्ने विषयसमेत आएकाले निर्माण समय लम्बिएको बताए ।
वीर अस्पताल विस्तार गर्न सरकारले आगामी आर्थिक बर्षका लागि ४० करोड विनियोजन गरेको छ ।
तर अत्याधुनिक सुविधा सम्पन भवन बनाउन भने ३६ अर्ब लाग्ने अनुमान छ ।
जसमा शैक्षिक कार्यक्रमसहित १ हजार शैयाको अस्पताल हुने छ । वीर अस्पतालमा नभएका विशिष्टिकृत सेवा दुवाकोटबाट दिने लक्ष्य राखिएको छ ।
तर अहिले दुवाकोटमा रहेको वीर अस्पतालको जग्गा भएको ठाउँमा एक जना चिकित्सकले सामान्य ओपीडी सेवा दिइरहेका छन् ।
दुवाकोटसँगै अहिले वीर अस्पताल रहेको अगाडिको जग्गामा पनि नयाँ सर्जिकल ब्लक बनाउने निर्णय सरकारले गरेको थियो ।
सो जग्गामा भने अहिले सर्जिकल ब्लक निर्माण भइरहेको छ ।
५ सय शैयासहितको सात तल्ले भवन नेपाल सरकारले आफ्नै लागतमा निर्माण गर्न थालेको हो । जुन अबको डेढ वर्षभित्रै सक्ने लक्ष्य लिइएको छ ।
नेपालको सबैभन्दा पुरानो र ठूलो मानिएको वीर अस्पताल विस्तार गरी अत्याधुनिक र सुविधासम्पन्न बनाउने गुरुयोजना तयार पारेर बर्षेनी बजेट विनियोजन हुँदै आए पनि काम अघि बढ्न नसक्नु बिडम्बना हो ।
अस्पताल विस्तारको जिम्मेवारी आफैंले लिने या अरुलाई दिने भन्ने निर्णय गर्न नसक्नु आफैंमा लाजमर्दो विषय हो ।
प्रतिक्रिया दिनुहोस्