
काठमाडौं, असार ३२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घन्टाका लागि स्थगन गरिएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुआतमै कांग्रेसका सांसदहरुले आमरण अनशनरत् डा. गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए ।
सोहीक्रममा कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकारले माथेमा आयोगको भावना र मर्मविपरीतको चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत् गर्न लागेको आरोप लगाए ।
सांसद विश्वकर्माले विगतको सरकारले माथेमा आयोगको भावना र मर्मअनुसारको चिकित्सा शिक्षा आयोग अध्यादेशमार्फत् जारी गरेको जानकारी गराए ।
उनले भने–‘हामीले आमरण अनशनरत् डा. केसीको माग सम्बोधन गरी उहाँको जीवनरक्षाका लागि पटक–पटक आवाज उठाउँदा पनि सरकार गम्भीर देखिएन । यस घटनालाई मुलुकभित्र र विश्वमा नै चासोका साथ हेरिएको भएपनि यसमा सरकार गम्भीर देखिएन । तसर्थ उहाँका माग सम्बोधन नभएसम्म संसद चल्न दिदैनौं ।’
सभामुखको पटक–पटकको आग्रहपछि पनि कांग्रेसका सांसदले आसनग्रहण नगरी उभिरहेपछि सभामुख कृष्णबहादुर महराले संसद बैठक आधा घन्टाका लागि स्थगन गरेका थिए ।
सोहीक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै नियमित प्रक्रियाबाट नै विधेयक पेस हुने बताउँदै कसैले पनि संसदीय अभ्यासलाई मिच्न नहुने बताए ।
साथै, उनले संसदमा अल्पमतले बहुमतलाई अवरोध गर्ने दृष्टान्त विश्वमा नै नरहेको बताए ।
नेकपाका अर्का सांसद खगराज अधिकारीले प्रतिपक्षी दलसँगसमेत छलफल गरेर सहमतिमा ल्याएको विधेयकलाई अघि बढाउन अवरोध गर्दा सहमति उल्लघंन भएको बताउँदै सभामुखले बोल्नेबेला कसैले पनि सदनमा बाधा गर्न नहुने नियमावलीमा व्यवस्था रहेको जानकारी गराए । रासस
प्रतिक्रिया दिनुहोस्