Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेकपा सचिवालय बैठकमा के भयो ?


0
Shares

काठमाडौं, असार ७ । पार्टीको राजनीतिक प्रतिवेदनबारे छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक एजेन्डामै प्रवेश नगरी सकिएको छ ।

पार्टीको राजनीतिक प्रतिवेदन र एकताका बाँकी रहेका विषयमा छलफल गर्न शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीको युरोप भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमका विषयमामात्र छलफल गरेर बैठक टुंगिएको हो ।

सचिवालय सदस्य वामदेव गौतमले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणबारे ‘ब्रिफिङ’ र समसामयिक राजनीतिका विषयमा चासो राखेको तर बैठक एजेन्डामा प्रवेश नगरेको बताए ।

तर, महासचिव विष्णु पौडेलले अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन सम्पादनमा भइरहेको प्रगतिबारे जानकारी दिएको भन्दै पार्टी एकताका बाँकी रहेका विषय पनि आवश्यक गृहकार्य गरेर छिट्टै टुंगो लगाउने निर्णय भएको जानकारी दिए ।

पार्टीको राजनीतिक प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १३ महिना पूरा भइसक्दा पनि अझै पार्टीको राजनीतिक प्रतिवेदन आउन सकेको छैन ।

यस्तै, पार्टीको सांगठनिक एकताले पनि पूर्णता पाउन सकेको छैन ।

पार्टीभित्रको विवादका कारण नेकपामा अहिलेपनि जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लाग्न सकेको छैन ।

यस्तै, विभागहरु गठन र केन्द्रीय सदस्यहरुको जिम्मेवारीको बाँडफाँट पनि अधुरो नै छ ।