नेकपाको सचिवालय बैठक आज बस्दै, राष्ट्रियसभामा गौतमलाई लैजानेबारे छलफल हुने • Image Khabar Image Khabar


नेकपाको सचिवालय बैठक आज बस्दै, राष्ट्रियसभामा गौतमलाई लैजानेबारे छलफल हुने


Imagekhabar
१८ भाद्र २०७७, बिहीबार ०८:१२

नेकपाको सचिवालय बैठक आज बस्दै, राष्ट्रियसभामा गौतमलाई लैजानेबारे छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा एजेण्डा तय गरिएको थियो ।

यसअघि भदौ १३ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

यसैगरी राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने वा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई लैजाने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

गत फागुन १४ गते सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको थियो ।

उक्त निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले प्रधानमन्त्री ओलीलाई निरन्तर दवाव दिँदै आएका छन् ।

दाहाल पक्षका नेताहरुले गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने अडान दोहोर्‍याइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने खतिवडालाई नै दोहोर्‍याउने पक्षमा रहेको बताउँदै आउनुभएको छ ।

केही दिनअघि प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने च्याप्टर नै क्लोज भएको बताउनुभएको थियो ।

उहाँले गौतमलाई संसदमै लैजान सक्ने विकल्पका बारेमा छलफल गरिरहनुभएको प्रधानमन्त्री निकट रहेका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्