उपचार अभावमा कोरोनाबाट छोरी गुमाएका पिताको पीडा-'इमरजेन्सीमै अन्तिम सास गयो' • Image Khabar Image Khabar


उपचार अभावमा कोरोनाबाट छोरी गुमाएका पिताको पीडा-‘इमरजेन्सीमै अन्तिम सास गयो’


Imagekhabar
१७ भाद्र २०७७, बुधबार १५:४४

उपचार अभावमा कोरोनाबाट छोरी गुमाएका पिताको पीडा-'इमरजेन्सीमै अन्तिम सास गयो'

मेरो नाम कृष्ण भुसाल हो । भरतपुर महानगरपालिका वडा नम्बर-११ मा घर छ । मेरी १८ वर्षीया छोरी सन्ध्याको उपचार अभावमा कोरोना संक्रमणका कारण निधन भयो ।

छ दिनअगाडि घरमा लडेपछि चिउडोमा सामान्य घाउ लाग्यो । जिल्लामा निषेधाज्ञा जारी । अर्कोतर्फ कोभिड-१९ को त्रास । ठूला अस्पतालहरुमा लैजाँदा कोभिड-१९ को रिपोर्टविना उपचार नपाउने भएपछि मैले स्थानीय मेडिकलमा लगें । त्यहाँ उपचारपछि घरमा पनि सानो छोरीको सहयोगमा सामान्य ड्रेसिङ गरिदिएँ ।

तर, घटना हुनुभन्दा अघिल्लो दिन छोरीले असजिलो महसुस गरेको थाहा पाएँ । बेहोसजस्तै धेरै सुत्ने गरिन् । त्यसपछि कोभिड-१९ परीक्षणका लागि भरतपुर अस्पतालमा फोन गरें । स्वाब झिक्ने समय सकियो भन्ने जानकारी पाएँ । राति अति अप्ठेरो भयो भनेपछि ठूला अस्पतालमा लैजाने निर्णयमा पुग्यौं ।

यति धेरै एम्बुलेन्सलाई फोन गरें । कुनै तयार भएनन् । पछि साथीहरुलाई भनेपछि जसोतसो एम्बुलेन्स पाइयो । तुरुन्तै नेसनल सिटी अस्पताल भरतपुर लगेँ । त्यहाँ प्रेसर, मुटुको धड्कन, श्वासप्रश्वास जाँचपछि स्लाइन पनि दिइयो ।

त्यसपछि आइसीयूमा लैजान भनियो । मन आत्तियो । के गरौं र कसो गरौं भयो । भएजतिका सबै आइसीयू, भेन्टिलेटर सेवा दिने अस्पतालहरुमा फोन गरें । कसैले बिरामी ल्याउनुहोस् भनेन । अस्पतालहरु सबैमा फोन गरेपछि पनि बेड नभएको उत्तर आएपछि साथीभाइहरुसँग हार-गुहार गरें ।

चितवनले मेडिकल सिटीको उपमा पायो । तर, जब आपत पर्छ अनि थाहा हुँदोरहेछ, यसको यथार्थ अर्थ भन्ने । दुईओटा ठूला मेडिकलदेखि कुनै अस्पताल थिएन, मैले फोन नगरेको । तर, कसैले बेड छ भनेन । साथीभाइ र शुभेच्छुकको पहलमा बल्ल-तल्ल नारायणी सामुदायिक अस्पतालमा लगें । लग्नासाथ ‘नराख्ने’ भन्नुभो । फेरि, अस्पतालमा अग्रजहरुलाई भन्न लगाएँ ।

त्यसपछि सिटी र एक्सरे भयो । सिटी ठिक देखियो । ‘एक्सरेमा खराब छ’ भने । तुरुन्तै आइसीयूमा लैजान सुझाए । उताको अस्पतालले पनि त्यही भनेर यहाँ ल्याएको थिएँ । यहाँ पनि त्यही भने । मलाई रिस पनि उठ्यो । मन पनि आत्तिरहेकै छ । यति ठूलो अस्पताल छ, ‘यहीँ होला नि आइसीयू’ भनें । अनुयविनय गरें । तर, कसैले सुनेन ।

‘आइसीयू छ तर डाक्टर हुनुहुन्न, आइसोलेसन र क्वारेन्टिनमा हुनुहुन्छ’ भने । यति भनेपछि मैले जिद्दी गर्ने कुरा भएन । धेरै साथीहरु र अग्रजलाई भनेपछि सरकारी अस्पतालको इमरजेन्सीमा ल्याएँ । बिहानको ११ बजिसकेको थियो ।

त्यहाँ पनि भर्ना गर्न आनाकानी गर्नुभयो । पछि दबाब नै दिएपछि बल्ल भर्ना गरिदिनुभयो । त्यसपछि बल्ल इमरजेन्सीमै राखेर भएपनि उपचार भयो । म बाहिर आएँ । छोरीको बिग्रँदो अवस्थाले म विछिप्त थिएँ । भित्र के-के भयो, म बाहिर रुन थालें । साथमा भाइ मुकुन्द, बहिनी-ज्वाइँ, परिवार हुनुहुन्छ । सबै आत्तिएका छन् ।

इमरजेन्सीमा राखेर उपचार हुँदै गर्दापनि कतै आइसीयू र भेन्टिलेटर खाली छ कि भनेर फोन घुमायौं । तर, न त सरकारी अस्पतालमै बेड खाली पाइयो, न अन्यत्र । अनि, प्रश्न गर्न मन लाग्यो ? के साँच्चै चितवन मेडिकल सिटी हो त ? के रहेछ यसको अर्थ ? सरकारी अस्पतालमै पर्याप्त आइसीयू र भेन्टिलेटर छैन ।

त्यसपछि दिउँसो ३ः३० बजे नानीको जीवन नरहेको खबर सुनाए । आइसीयूसम्म पनि जान नपाएर इमरजेन्सीमै अन्तिम सास गयो ।

मुटु टुक्रा-टुक्रा भयो । आँशुको धारा बगे । सानो घाउ लिएर अस्पताल आएको नानीलाई यो के भयो ? कसरी भयो ? अन्योलता छायो । प्रश्न उब्जियो । चिकित्सककै सल्लाहमा कोभिड-१९ परीक्षणका लागि स्वाब दिइएको थियो । साँझ रिपोर्ट आयो, कोरोना संक्रमण पोजिटिभको ।

मनले केही सोच्नै सकेन । घरमा बसिरहेकी छोरीलाई संक्रणम कहाँबाट भयो ? न कुनै लक्षण थियो यसअघि । रिपोर्ट आएपछि संक्रमण भएको थाहा भयो । मेरो छोरीसँगै अरु दुईजनाको पनि सोही दिन निधन भएको रहेछ ।

कोभिड-१९ कहाँबाट सर्‍यो त म भन्न सक्दिनँ । तर, अहिले जताततै कोभिड-१९ छ भन्ने लाग्छ । इमरजेन्सीमा सबै एकै ठाउँमा थियौं । कोभिडको लक्षण भएकालाई छुट्टै राखेर उपचार गर्नुपर्ने त्यस्तो केही पाइएन । नानीको शव शवगृहमा राख्ने काम सबै भाइ मुकुन्दसहितले गरे । अहिले अस्पताल नै कोभिडका लागि जोखिम छन् भन्ने लाग्छ ।

म सरकारलाई के भन्न चाहन्छु भने, मेरो त घटना घट्यो । फक्रिँदै गरेको फूल उपचार नपाएर नै चुँड्यो । नेपाल सरकार, स्थानीय तह, महानगरपालिका, स्वास्थ्यसँग जानकार व्यक्तिहरुका लागि मेरो एउटै अनुरोध छ-मेरो नानीको जसरी अरुले उपचार नपाएर मृत्यु हुने अवस्था नहोस् । तुरुन्तै रेस्पोन्स टिम गठन होस्, ताकि कुनै बिरामीका आफन्तले फोन गर्नासाथ तत्काल एम्बुलेन्ससहित रेस्पोन्स गर्न सकियोस् । बिरामीको लक्षण सोधपुछपछि कुन अस्पताल लग्ने सोही टिमले त्यसको व्यवस्थापन गरोस् ।

अहिले यस्तो भयावह स्थिति आइसक्दा पनि गोष्ठी, छलफल, गफगाफमा सीमित देखिन्छन्, सरोकारवाला । गोष्ठी, छलफल, गफगाफ रेस्पोन्स होइन, एक्टिभ रेस्पोन्स टिम भरतपुर महानगरपालिकामा तत्काल आवश्यक छ । उक्त टिममा डाक्टर, सुरक्षाकर्मी, जनस्वास्थ्यसँग सरोकार राख्नेसहित समावेश गरी दक्ष जनशक्ति लिएर बिरामी भएको ठाउँसम्म जाने व्यवस्थापन हुनुपर्छ । उनीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री दिएर उपचार नै नपाएर मृत्यु हुनबाट बचाउनुपर्छ । यसो नभए चितवनमा स्वास्थ्य उपचार पाएर बाँचुला भन्ने आशा गर्नुपनि आकाशको फल हुन जान्छ ।

(इमेजकर्मी डोलराज रानाभाटले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्