Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


चिज बिक्री नहुँदा भन्डारमै थन्कियो


0
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानले उत्पादन गरेको चिज बिक्री नहुँदा समस्या भएको छ ।

दैनिक रुपमा किसानले चिज उत्पादन गर्दै आए पनि बजारको अभावमा बिक्री नहुँदा किसानले भन्डारमै थन्क्याउँदै आएका छन् ।

घारका ३२ जना अगुवा किसान मिलेर २०७१ सालमा हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिक चिज उत्पादन गर्दै आएका छन् ।

२० लाख रुपैयाँको लगानीमा सुरु गरिएको चिज उद्योगमा अहिले किसानले लगानी बढाउँदै ३२ लाख पुर्‍याएका छन् ।

जिल्लाभित्रका पर्यटकीयस्थलका साथै छिमेकी जिल्लामा खपत गर्ने उद्देश्यले चिज उद्योग सञ्चालन गरी गुणस्तरीय चिज उत्पादन गर्दै आएको भए पनि बजारको समस्याले नियमित बिक्रीमा समस्या भएको हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्थाका सचिव श्यामप्रसाद खड्काले बताए ।

गाउँका ४५ जना कृषकले दैनिकरुपमा चिज उद्योगमा दूध बिक्री गर्दै आएका छन् । उद्योगले प्रतिलिटर ४५ देखि ७० रुपैयाँसम्ममा कृषकबाट दूध खरिद गर्दै आएको छ ।

चिजको नियमित खपत नहुँदा किसानलाई दूधको भुक्तानी दिन समस्या भइरहेको उद्योगले जनाएको छ ।

गाउँमा उन्नत जातका गाईपालन गरेका किसानले दैनिक उद्योगमा दूध पुर्‍याउँदै आएको भए पनि बजार अभावले उत्पादिन चिज बिक्री नहुँदा किसानलाई थप राहत दिन नसकेको सहकारीले जनाएको छ ।

Skip This