महाकाली अस्पतालको मुहार फेरिँदै, ५७ वर्षपछि पहिलो पटक आइसियू संचालन • Image Khabar Image Khabar


महाकाली अस्पतालको मुहार फेरिँदै, ५७ वर्षपछि पहिलो पटक आइसियू संचालन


Imagekhabar
१४ भाद्र २०७७, आईतवार ०९:३१

महाकाली अस्पतालको मुहार फेरिँदै, ५७ वर्षपछि पहिलो पटक आइसियू संचालन

दुर्गा उपाध्याय/ईमेज

कञ्चनपुर । दक्ष जनशक्ति नहुँदा रिफर सेन्टरका रुपमा चिनिएको महाकाली अस्पतालको मुहार फेरिँदै गएको छ ।

नयाँ विकास समिति पाएसँगै अस्पतालले विशेषज्ञ चिकित्सकको पदपूर्तिसँगै अस्पतालका लागि अति आवश्यक सघन कक्ष पनि संचालनमा ल्याएको छ ।

अस्पतालमा आइसियु संचालन भएसँगै स्थानीय खुशी भएका छन् ।

स्थापनाकालको ५७ वर्षपछि महाकाली अस्पतालमा पहिलो पटक आइसियू संचालन गरिएको हो ।

आइसियु सञ्चालनका लागि सुदूरपश्चिम प्रदेशले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो भने अक्सिजन प्लाण्टका लागि छुट्टै ८० लाख रुपैयाँ बजेट आएको थियो ।

तर, कोरोना महामारीका कारण अक्सिजन प्लान्ट जडान गर्न नसकेपछि अस्पतालले अस्थायी रुपमै भएपनि अक्सिजन सिलिण्डरको प्रयोग गरेर आइसियु संचालनमा ल्याएको हो ।

लकडाउनका कारण अस्पतालले १० वटा अक्सिजन सिलिण्डर जडान गरी अस्थायी रुपमा आइसियु संचालनको प्रक्रिया अगाडी बढाएको छ ।

उता मंगलबारबाट सञ्चालनमा आएको आइसियु सेवा विस्तारका लागि संघीय सरकारले समेत दुई करोड बजेट दिने भएको छ ।

तीन वटा भेन्टिलेटर र ६ वटा बेडसहित सञ्चालनमा आएको आइसियु कक्षमा संघीय सरकारले समेत चार वटा भेन्टिलेटर र १० वटा वेड थप गर्ने भएको छ ।

आफूहरुसँग तीन वटा भेन्टिलेटर रहेकाले बिरामीहरु बाहिर जान नपरोस भनेर हामीले अस्थायी रुपमै भएपछि आइसियु संचालन गर्ने आँट गरेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) बताउनुहुन्छ ।

यसअघि विशेषज्ञ सेवा सञ्चालन गर्न नसकेपनि महाकाली अस्पतालले वर्षेनी महंगा तथा अत्याधुनिक उपकरण भित्र्याउने गरेको आरोप लाग्ने गरेको थियो ।

विगतका वर्षहरुमा दक्ष चिकित्सक र जनशक्तिको अभावले गर्दा थन्किएका उपकरणहरु आइसियु संचालनपछि बिरामीले राहत महशुस गरेका छन् ।

यसअघि रिफर सेन्टरका रुपमा चिनिएको महाकाली अस्पतालमा आइसियु सञ्चालनपछि बिरामी मात्रै होइन चिकित्सक समेत हर्षित भएका छन् ।

अस्पतालमा एकजना मेडिकल सुपरिटेण्डेन, ६ जना मेडिकल अफिसर र १९ जना विशेषज्ञ डाक्टर, एक जना डेण्टल र एक जना परिवार नियोजनतर्फ गरी २८ जना चिकित्सकको दरबन्दी छ । तर दरबन्दी अनुसारका चिकित्सकको पदपूर्ति भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्